Butwal Today

छत्रेश्वरीको छायाँछेत्र जङ्गलमा लागेको आगो नियन्त्रण 

६ चैत्र २०८२, शुक्रबार
अ+
अ-

सल्यान । सल्यान छायाँछेत्रको जङ्गलमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा आएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर, ६ शंखमुल नजिक छायाँक्षेत्रको जङ्गलमा लागेको आगो जनप्रतिनिधि, प्रहरी, स्थानीय समुदायले नियन्त्रणमा लिएका हुन् ।

जङ्गलमा लागेको आगो बिहीबार साँझ जनप्रतिनिधि, नेपाल प्रहरी, गाउँ प्रहरी बल, स्थानीय नागरिक र सामुदायिक वन समूहका उपभोक्ताको सक्रियतामा नियन्त्रणमा लिइएको छत्रेश्वरी-६ का वडा सदस्य सागर नेपालीले जानकारी दिए । कसले किन र कसरी आगलागी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत शनिबार सिद्ध कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाको सिमाना क्षेत्रमा लागेको डढेलोले करिब ३० हेक्टर वन क्षेत्र नष्ट गरेको थियो । तथ्याङ्क अनुसार सल्यान वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला हो । सन् २०१३ देखि २०२५ सम्म सल्यानमा एक हजार ३०२ वटा वन डढेलोका घटना भएका छन् ।यसले गर्दा वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठुलो क्षति पुर्‍याउँदै आएको छ ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्लाभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । हालै कपुरकोट गाउँपालिकामा “वन डढेलो नियन्त्रणमा प्रभावकारिता तिनै तहका सरकारको सहभागिता” भन्ने नारासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममार्फत डढेलो नियन्त्रणका लागि आवश्यक योजना तयार गरिएको सब डिभिजन वन कार्यालय कपुरकोटले जनाएको छ ।

कपुरकोट सब डिभिजन वन कार्यालय प्रमुख कमला घर्ती मगरका अनुसार वन डढेलो लाग्न नदिने, लागिहालेमा सुरक्षित तरिकाले नियन्त्रण गर्ने, वन कार्यालय र स्थानीय तहबिच समन्वय बढाउने, सामुदायिक वनहरूलाई सक्रिय बनाउने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?