Butwal Today

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२, शुक्रबार
अ+
अ-

मुस्ताङ ।

वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गते यता हालसम्म छैटौँपटक हिमपात भएको छ ।

वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको व्यवस्थापक भुसालले बताए ।

मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघिमात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको तर हिमपातका कारण बिस्तारै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको भुसालको भनाइ छ ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाँक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । “मुक्तिक्षेत्रमा दिउँसोदेखि हिउँ पर्न थालेको छ, हिउँले मुक्ति क्षेत्र पूरै सेताम्मे भइसकेको छ”, अध्यक्ष ठकुरीले भने, “रातभरि हिउँ परेमा दुई फिट बढी हिउँ जम्ने देखिन्छ, हिउँले सडकसमेत अवरुद्ध हुनसक्ने सम्भावना छ ।”

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने बताए। हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?