Butwal Today

प्रि– मनसुनको जोखिम र सावधानी 

५ चैत्र २०८२, बिहीबार
अ+
अ-

प्रायः फागुनको अन्त्य र चैतको सुरुवातबाटै हावाहुरी चल्ने, गड्याङ गुडुङ गर्ने र पानी पर्ने मौसमी चक्र सुरु हुन्छ ।

यो समयलाई प्रि– मनसुनको समय भनिन्छ । अहिले मनसुन अघिको प्रि मनसुनको समय सुरु भएको छ । यो बेला हावाहुरी र चट्याङको जोखिम धेरै हुने मौसमबीदहरू बताउँछन् ।

विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुन पूर्वको वर्षाको प्रभावका कारण चार जनाको मृत्यु भैसकेको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण मानवीय क्षतिका अतिरिक्त भौतिक क्षति पनि भएको छ ।

यसैगरी हावाहुरीकै कारण बिजुलीको पोल ढल्दा बिजुली आपूर्तिमा अवरोध पनि सिर्जना भइरहेको छ । गुल्मी जिल्लामा कतिपय घरका छानाको टिन उडाउँदा जनजीवन प्रभावित भएको छ ।

मौसमविद्का अनुसार मनसुन भित्राउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र भएकाले वेगयुक्त हावाहुरी तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना बढिरहेको छ । फेरी शुक्रबारदेखि हावाहुरी र चट्याङसहित बर्षाको संभावना रहेको मौसमबीदहरूले जनाएका छन । यो बेला सवै सचेत हुनुपर्ने आवश्यकता छ ।

यस्तो बेला सही मौसमी सूचनाको आवश्यकता पर्दछ । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्छ । यसका अतिरिक्त सर्वसाधारणले हावाहुरी चल्ने समयमा आफू तथा परिवारको रक्षाका लागि पूर्व सावधानी अपनाउनु र त्यत्तिकै सजग हुनु जरुरी छ । हावाहुरीका कारण बिद्युतीय जोखिम बढिरहेको छ ।

हावाहुरीका कारण विद्युत पोल ढल्ने समस्यामात्र होइन, ठूला ठूला रुखले समेत जोखिम निम्त्याएका छन् । हुरीका कारण ती ठूला रुख ढल्दा एकातिर त्यसले मानवीय क्षति बढिरहेको छ ।

सहर सौन्दर्यको नाममा हुने बुढा र ठूला रुख कटान, छटान र व्यवस्थित गर्नु जरुरी छ । हरेक बर्ष रुखको हाँगा नछिमोलिएकै कारण हाँगा भाँचिएर मानवीय दुर्घटना भएको समाचार सुन्न परिरहेको छ ।

तसर्थ बर्षा अघिको प्रि मनसुनको अवस्थामा उत्पन्न हुने प्राकृतिक जोखिम अन्त्यको लागि पहल गर्नु जरुरी छ । चट्याङ त्यस्तै जोखिमको अर्को रूप हो । गुल्मी जिल्लामा एक साताभित्रै चट्याङ लागेर एक महिला घाईते भएकी छिन ।

घर र गोठमा चटयाङ पर्दा भौतिक क्षति भएको छ । यसबाट बच्नुपनि चुनौतिको बिषय छ । आगामी दिनमा प्रि मनसुनको समय मात्रै होइन बर्षासमेत नजिक आएकोले प्राकृतिक प्रकोपबाट जोगिनु हामी सवैको जिम्मेवारी हो ।

सरकारले प्रि– मनसुनको जोखिमबाट बच्नेतर्फ ध्यान पु¥याउनु अत्यावश्यक छ । प्रकोप पूर्व तयारीको बिषयमा सोच्नेतर्फ ढिलाई नहोस् । तराईमा विगत ६ महिनादेखि ठूलो पानी नपरेका कारण डढेलोको प्रकोप उच्च हुने देखिएको छ ।

डिभिजन वन कार्यालय र सामुदायिक तथा साझेदारी वनहरूले डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम गरिरहेका छन् । डढेलो, हावाहुरी, चट्याङ लगायतको प्राकृतिक प्रकोप र जोखिमबाट बच्न पूर्व तयारीमा सम्वन्धित निकाय सचेत हुनैपर्ने बेला आएको छ । त्यसैले अहिले वन जोगाउने हो भने डढेलो लाग्नै नदिनेतर्फ सतर्कता आवश्यक छ । त्यसैगरी मनसुन पूर्वको जोखिम व्यवस्थापनमा राज्यको ध्यान जाओस् ।

पछिल्लोसमय आगलागीको घटना बढिरहेकोले प्राकृतिक प्रकोपजन्य जोखिम व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । हरेक बर्ष चट्याङका कारण ठूलो मानवीय क्षति हुने गरेको छ । यो बर्षपनि चट्याङबाट घाईते भएको समाचार आईसकेको छ । अतः विपदको जोखिम व्यवस्थापनमा राज्यमात्रै होइन, आम नागरिकको ध्यान जानु जरुरी छ । विपदका घटना नियन्त्रणमा विगतका असल अभ्यास यसपटक पाठ हुन सक्छ ।

तसर्थ जसरी वितेका बर्षहरूमा विपदका कारण ठूलो मानबीय क्षति भयो, नीजि र राज्यको भौतिक सम्पत्ति नष्ट भयो, अब त्यो अवस्था नआओस भन्नेतर्फ खबरदारी जरुरी छ । समय अगावै सोच्न सकिएन भने फुर्सदमा पछुताएर केही हुँदैन । तसर्थ विपदका घटना नियन्त्रणमा राज्यलाई खबरदारी गर्ने कुरामा हामी सवै चनाखो हुनु अति आवश्यक छ ।

अर्कोतर्फ राज्यका तीनवटै निकाय संघीय, प्रदेश र स्थानीय पालिकाहरूले समेत कार्ययोजना बनाएर विपदजन्य घटना नियन्त्रणमा अहिलेदेखि नै तदारुकताका साथ लाग्नु जरुरी छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?