© 2026
सल्यान । सल्यान स्थित वनस्पति उद्यानसहितको अनुसन्धान केन्द्र प्राकृतिक तथा शैक्षिक दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा विकास हुँदै गएको छ ।
कपुरकोट गाउँपालिका–३ मुलपानीमा रहेको वनस्पति अनुसन्धान केन्द्र अध्ययन, अनुसन्धान तथा भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । केन्द्रका अनुसार यहाँ हरेक वर्ष करिब १० हजार आगन्तुक अध्ययन, अवलोकन तथा भ्रमणका लागि आउने गरेका छन् ।
वनस्पति अनुसन्धान केन्द्र मूलपानीका प्रमुख डा. मित्रलाल पाठकका अनुसार देशका विभिन्न स्थानबाट आयुर्वेद कलेज, कृषि तथा विज्ञान विषयका विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञहरू अध्ययन तथा अनुसन्धानका लागि यहाँ आउने गरेका छन् ।
त्यसै गरी जिल्लाभित्रका विद्यालयहरूबाट पनि विद्यार्थी जडीबुटीको पहिचान, औषधीय गुण भएका वनस्पति, जडीबुटी खेतीका सम्भावना तथा वनस्पति संरक्षणबारे जानकारी लिन अध्ययन भ्रमणका लागि आउने गरेका छन् ।
करिब ५.५ हेक्टर क्षेत्रफलमा फैलिएको मूल पानी वनस्पति उद्यानमा अध्ययन तथा अनुसन्धानका साथै मनोरञ्जनका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
उद्यानमा बोटानिकल गार्डेनका साथै हिमालको आकृति निर्माण गरिएको छ । यसले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । जंगलको प्राकृतिक वातावरणबिच विभिन्न प्रजातिका वनस्पतिसँग रमाउन र अध्ययन गर्न मानिसहरू आउने गरेका छन् ।
केन्द्रका सूचना अधिकारी दामोदर दाहालका अनुसार चालू आर्थिक वर्षको हालसम्म विद्यार्थी मात्र एक हजार ८०० भन्दा बढी उद्यान अवलोकनका लागि आइसकेका छन् । विद्यार्थी तथा अन्यसमेत गरी हालसम्म करिब ५ हजार जनाले अध्ययन, अवलोकन तथा भ्रमण गरिसकेको उनले बताए । मूल पानी वनस्पति उद्यान पर्यटकीय गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ ।
५५१ प्रजातिका बिरुवा संरक्षित
वनस्पति अनुसन्धान केन्द्रले ५५१ प्रजातिका बिरुवा संरक्षण गरेर राखेको छ । स्थानीय तथा बाह्य क्षेत्रबाट ल्याइएका ती बिरुवामध्ये २० प्रजाति दुर्लभ वनस्पतिका रूपमा रहेको केन्द्रले जनाएको छ ।
लोपोन्मुख तथा जङ्गली अवस्थामा क्रमशः घट्दै गएका वनस्पतिहरूको संरक्षणमा समेत केन्द्रले विशेष ध्यान दिँदै आएको छ । उद्यानमा संरक्षित बिरुवामध्ये करिब आधा देशका विभिन्न स्थानबाट ल्याइएका छन् भने केही शोभनीय वनस्पति विदेशबाट समेत संकलन गरेर राखिएको केन्द्रले जनाएको छ ।
सल्यानमा औषधीय गुण भएका तथा अन्य महत्त्वपूर्ण वनस्पतिका बिरुवासमेत उत्पादन हुँदै आएका छन् । उद्यानस्थित नर्सरीका साथै मुलपानी, लुहाम र दहखोलामा रहेका अन्य नर्सरीमार्फत पनि विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।