Butwal Today

सन्धिखर्कमा ज्येष्ठ नागरिकका कानुनी हक अधिकार सम्बन्धी अभिमुखीकरण

५ चैत्र २०८२, बिहीबार
अ+
अ-

अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा ज्येष्ठ नागरिकका कानुनी हक अधिकारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रमले ज्येष्ठ नागरिकलाई आफ्नो अधिकार, सेवा र संरक्षणसम्बन्धी विषयमा जानकारी गराउने लक्ष्य लिएको छ।

कार्यक्रममा नगरभित्रका १२ वटै वडाका वडा स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका प्रतिनिधि तथा नगर स्तरीय ज्येष्ठ नागरिक मञ्चका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सहभागीहरूले स्थानीय तहबाट उपलब्ध सेवा सुविधा, कानुनी प्रावधान तथा सामाजिक सुरक्षा सम्बन्धी जानकारी प्राप्त गर्ने अवसर पाएका छन् । यस कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई आत्मनिर्भर र अधिकारप्रति सचेत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनाल, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रतिनिधि पुष्पा भुसाल लगायत बोल्दै ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सहभागितालाई सुनिश्चित गर्न यस्ता कार्यक्रमको महत्त्व अत्यन्तै उच्च रहेको धारणा व्यक्त गरेका थिए ।

उद्घाटन मन्तव्य राख्दै नगर उपप्रमुख आचार्यले ज्येष्ठ नागरिक समाजका अनुभवी र मार्गदर्शक व्यक्तित्व भएको उल्लेख गर्दै उनीहरूको अधिकार संरक्षणमा स्थानीय तह प्रतिबद्ध रहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले कानुनी जानकारी अभावका कारण धेरै ज्येष्ठ नागरिकले पाउने सेवा नपाइरहेको अवस्था अन्त्य गर्न यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता तथा सहायक महिला विकास निरीक्षक तुल्सा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?