Butwal Today

‘गुरूको चेलोबाट’ चिनिएका अन्जान

५ चैत्र २०८२, बिहीबार
अ+
अ-

लमही  ।  विदेशमा श्रम बेच्नुभन्दा आफ्नै गाउँमा सीप र मेहनत लगानी गरेर सफल हुने सपना धेरै युवाले देख्छन्, तर थोरैले मात्र त्यो सपना व्यवहारमा उतार्न सक्छन् ।

दाङको राप्ती गाउँपालिका–६ बगरापुर निवासी २६ वर्षीय अन्जान चौधरी त्यस्तै उदाहरणीय युवा हुन्, जसले विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा व्यवसाय सुरु गर्दै स्वदेशमै सम्भावना खोजिरहेका छन् ।

९ वर्षअघि एसएलसी परीक्षा दिएका चौधरीले त्यसपछि एक वर्ष होटल म्यानेजमेन्ट अध्ययन गरेका थिए । अध्ययनपछि उनी काठमाडौँ उपत्यकातर्फ लागे । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न होटेल तथा रेष्टुरेन्टमा उनले करिब ८ वर्ष काम गर्दै अनुभव सङ्कलन गरे ।

सुरुमा सामान्य कामबाट थालेका उनले बिस्तारै खाना बनाउने सीप, ग्राहकसँग व्यवहार गर्ने तरिका र व्यवसाय सञ्चालनका विभिन्न पक्ष सिक्दै गए ।

लामो समय घरभन्दा टाढा बसे पनि उनको मन भने आफ्नै गाउँ तिरै तानिरहन्थ्यो । बुवाको निधनपछि आमा एक्लै बस्नुपर्ने अवस्था भएपछि उनले गाउँ फर्कने निर्णय गरे । “आमालाई एक्लै छोडेर टाढा बस्न मन लागेन, त्यसैले आफ्नै ठाउँमै केही गर्नुपर्छ भन्ने सोच आयो,” उनले भने ।

बाल्यकालदेखि नै खाना तथा नास्ता बनाउने रुचि भएका चौधरीले त्यही सीपलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरे । परिवारको साथ र हौसलाले उनलाई थप प्रेरणा दियो । अन्ततः उनले राप्ती गाउँपालिका–५ सिसहनियाँ बजारमा ‘गुरूको चेलो रेष्टुरेन्ट’ स्थापना गरी सञ्चालनमा ल्याए ।

बढ्दो व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको सिसहनियाँ बजारमा सुरु गरिएको उक्त रेष्टुरेन्ट अहिले स्थानीयहरूबिच लोकप्रिय बन्दै गएको छ । बाहिरबाट आकर्षक र व्यवस्थित देखिने रेष्टुरेन्ट महँगो होला भन्ने अनुमान धेरैको हुन्छ, तर चौधरीले सर्वसाधारणले सहजै उपभोग गर्न सक्ने गरी मूल्य निर्धारण गरिएको बताए ।

“मानिसहरूले हेर्दा महँगो होला जस्तो ठान्नुहुन्छ, तर हामीले सकेसम्म सस्तो र गुणस्तरीय सेवा दिने प्रयास गरेका छौँ,” उनले भने ।

रेष्टुरेन्टमा बिहान–बेलुकाको नास्तादेखि लिएर खाना समेत पाइन्छ । स्थानीय स्वादसँगै सहरी शैलीका विभिन्न परिकार उपलब्ध छन् । ग्राहकको मागअनुसार मेनु विस्तार गर्ने योजना पनि उनले बनाएका छन् ।

रेष्टुरेन्टलाई अझ व्यवस्थित र आकर्षक बनाउने लक्ष्यसहित चौधरीले निकट भविष्यमा मिटिङ हल तथा बर्थडे पार्टीका लागि छुट्टै स्थानको व्यवस्था गर्ने तयारी गरिरहेका छन् ।

“यहाँ राम्रो मिटिङ गर्ने ठाउँ र बर्थडे सेलिब्रेट गर्ने स्थानको अभाव छ, त्यसैले छिट्टै त्यो सुविधा थप्ने योजना बनाएका छौँ,” उनले भने ।

हाल धेरै नेपाली युवा रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दो छ । विशेष गरी होटेल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने युवाहरू खाडी मुलुकतर्फ जाने गर्छन् । तर चौधरीले विदेशमा अरूको लागि काम गर्नुभन्दा आफ्नै ठाउँमा मालिक भएर काम गर्नु उचित ठाने ।

“विदेशमा गएर अरूका लागि काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास लाग्यो । यहाँ पनि अवसर छ, मेहनत गर्नुपर्छ,” उनले भने ।

स्थानीय स्तरमा व्यवसाय सुरु गर्दा लगानी व्यवस्थापन, ग्राहक तान्ने रणनीति र बजारको प्रतिस्पर्धा जस्ता चुनौतीहरू पनि आए । तर काठमाडौँमा काम गर्दा सिकेको अनुभवले उनलाई ती चुनौती सामना गर्न सहयोग पुग्यो ।

“सुरुमा अलि गाह्रो भयो, तर बिस्तारै ग्राहक आउन थाले । अहिले राम्रो प्रतिक्रिया पाइरहेका छौँ,” उनले सुनाए । उनको रेष्टुरेन्टले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने सम्भावना पनि बोकेको छ। भविष्यमा व्यवसाय विस्तार गर्दै थप कर्मचारी राख्ने योजना उनले बनाएका छन् ।

अन्जान चौधरीको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, स्वदेशमै सम्भावना खोज्ने युवाहरूका लागि प्रेरणादायी उदाहरण पनि हो । उचित सीप, आत्मविश्वास र परिवारको साथ भए गाउँमै बसेर पनि सफल व्यवसाय गर्न सकिन्छ भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?