© 2026
मध्य विन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सञ्चालन गरिएको छ ।
सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको हो ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि आगामी चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।
जसअन्तर्गत समुदायमा वन डढेलो रोकथामसम्बन्धी सचेतना गर्ने, फायर लाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्य सञ्चालन गरिने भएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताए ।
“प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म सचेतना मूलक रूपमा सप्ताहव्यापी कार्यक्रम गर्ने गरिएको छ”, उनले भने, “सप्ताहव्यापी कार्यक्रमअन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्व तयारीका कार्यक्रम सञ्चालन गरिने छ ।”
वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अधिकांश सामुदायिक वनहरू डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन डिभिजन वन कार्यालय प्रमुख अधिकारीले आग्रह गरे ।
“ वनजङ्गलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालाहरुलाई जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ,” उनले भने, “जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापक रूपमा सूचित गरिने छ ।”
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१० वटा सामुदायिक वन, १८१ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले बताउनुभयो । जिल्लामा ५७ दशमलव ५२ प्रतिशत भूभाग वन जङ्गलले ढाकेको छ ।
“आर्थिक वर्ष २०८१ र ८२ मा जिल्लाको कुल ७१ ठाउँमा वन डढेलो लाग्दा दुई हजार १५० हेक्टर वन क्षेत्रमा क्षति भएको अनुमान गरिएको छ”, उनले भने, “आर्थिक वर्ष २०८० र ८१ मा १८१ ठाउँमा वन डढेलो लाग्दा पाँच हजार २८९ दशमलव ६५ हेक्टर वन क्षेत्रमा क्षति भएको थियो ।”
नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले एक प्रतिशत र चार प्रतिशत बन डढेलोका कारण थाहा नभएको अधिकारीले जानकारी दिए ।
“घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठुलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नुपर्ने देखिन्छ”, उनले भने ।
डढेलोले जन, धन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।
नेपालमा प्रत्येक वर्षको चैत १ देखि ७ गते सम्म ‘वन डढेलो सचेतना सप्ताह’ र वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु संरक्षण सप्ताह’का रूपमा मनाउने गरिएको छ ।