© 2026
‘समाजसेवालाई तन, मन र बचनले आत्मसाथ गरौँ’ भन्ने नाराका साथ यो वर्षको सामाजिक सेवा कार्य दिवस आज नेपालमा मनाईदैछ । हरेक वर्ष चैत ४ गते मनाइने यो दिवस २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिनलाई स्मरण गर्दै मनाउने गरिन्छ ।
सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि यो दिवसले प्रेरणा र प्रोत्साहन दिने गरेको कुरामा दुई मत छैन । यो दिवसको नाराले पनि सामाजिक क्षेत्रमा लागेकाहरूको सम्मान गर्नुपर्ने सन्देश दिएको छ ।
उनीहरूको सेवाको उच्च सम्मान गर्नुपर्ने यो दिवसको नारा र ध्येय पनि हो । सामाजिक सेवा कार्यमा पछिल्लो समय त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि नयाँ बाटो दिलाउने विश्वास गर्न सकिन्छ ।
विशेषगरि सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि यो दिवस एउटा विशेष पर्व हो । समाजमा राम्रो काम गर्नेहरूले स्वाभाविक रूपमा राज्यबाट सम्मान खोज्छन् र योगदानको कदर होस भन्ने चाहन्छन् । तसर्थ यो दिवसको अवसरमा राज्यले सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने पद्धतिको सुरुवात गर्नुपर्दछ ।
सामाजिक कार्यलाई राष्ट्रिय गौरव भनिएको छ । यो नारामा कुनै विमति छैन । समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको थियो ।
परिषद्ले निकै ठुलो काम गरेको थियो तर पछिल्लो समय यसको प्रभावलाई कमजोर बनाइएको छ । सामाजिक सेवा क्षेत्रमा काम गर्नेहरूका लागि आफ्नो सेवाको उत्सव मनाउने दिन पनि आजै हो ।
सामाजिक कार्यकर्ताहरूले समाजमा ठुलो भूमिका खेलेका हुन्छन् । समाज रूपान्तरणका लागि उनीहरूले खेलेको भूमिका बिर्सनु हुँदैन । यद्यपि अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै स्विकार्न नसकिएको अवस्था भने विद्यमान छ । यसो हुनु राम्रो होइन ।
सामाजिक कार्यकर्ताको भूमिकाको सही मूल्याङ्कन गरिनुपर्छ । सामाजिक सेवामा समर्पित सेवीहरू राष्ट्रका गौरव र अमूल्य निधि नै हुन् । अर्कोतर्फ समृद्धि र सुखको लागि सामाजिक रूपान्तरण र उद्यमशीलता बढाउन यो दिवसले योगदान पु¥याउँदै आएको छ । तर, अहिलेपनि सामाजिक क्षेत्रमा काम गर्नेहरूलाई समाजले राम्रो नजरले हेर्दैन ।
यद्यपि यो अपवाद हुनसक्छ । सामाजिक क्षेत्रमा योगदान गर्छु भन्नेहरूलाई राज्यले समेत दुःख दिएको धेरै घटना छन् । देशकै लागि योगदान गर्छु भन्नेहरूलाई यसरी हतोत्साही गर्ने काम राज्यबाट हुन्छ भने भोली सामाजिक सेवाको अभियान नै ध्वस्त हुन सक्छ ।
तसर्थ यो दिवसकै अवसरमा सरकारले सेवा भाव राख्नेहरूलाई दुरुत्साहन होइन प्रोत्साहन गर्नु जरुरी छ । सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरव मानिएको छ । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ ।
सामाजिक सेवा कार्यमा समर्पितहरू राष्ट्रिय गौरव नै हुन । किनभने सामाजिक सेवाको कार्यले समाजलाई उन्नत बनाउन सकिन्छ भन्ने कुरामा विमति छैन् । अर्को महत्वपूर्ण पक्ष के छ भने सामाजिक कार्य दिवस खुसीसंग पनि जोडिएको छ ।
सामाजिक कामले वास्तवमै खुसी र सन्तुष्टी दिन्छ । आज मानिस हरेक क्षेत्रबाट दुःखी भैरहेको बेला सामाजिक कार्यबाट खुसी मिल्नेगरी अघि बढ्न सकेको अवस्थामा निश्चितरूपमा त्यो समाजकै लागि उपलब्धिको बाटो हुनेछ ।
तसर्थ सामाजिक कार्यको क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहित गर्ने काम राज्यको हो । उपादेयता र सन्दर्भ पुष्टी गर्ने क्रममा यो दिवसलाई आम जनमानससम्म पु¥याउँदै सामाजिक सेवाको महत्व उदघाटित गरियोस् ।
राज्य आफैले सामाजिक क्षेत्रको उत्तरदायित्व बहन गर्न नसकिरहेको बेला कम्तिमा पनि यो दिवसको सन्दर्भमा प्रोत्साहन गर्नु जरुरी छ । तसर्थ अत्यन्त महत्वपूर्ण यो दिवसलाई केवल औपचारिकतामै मात्र सीमित नगरियोस् ।
दिवस मनाएर मात्रै औपचारिकता पूरा गर्नुभन्दा कम्तिमा दिवसको सन्देश जनजनमा पु¥याउनेतर्फ सरोकारवाला निकायको ध्यान जाओस् ।