Butwal Today

फूलले सिँगारिँदै सिद्धार्थनगर

४ चैत्र २०८२, बुधबार
अ+
अ-

भैरहवा । 

रुपन्देहीको सीमावर्ती सहर भैरहवा यति बेला राजमार्गका डिभाइडर र सडक किनारमा फुलेका रङ्गीबिरङ्गी फूलले सिँगारिँदै गएको छ । सडक बिचमा रहेको डिभाइडरमा विद्युतीय पोल, बुद्ध मूर्ति र मौसमी फूलहरू फुलेर रातै र पहेँलै देखिएको छ । सफा सुग्घर मात्र नभएर हेर्दै मन आनन्द हुने गरी थरी थरीका फूलहरू वरिपरि फुलेको देख्न सकिन्छ ।

सिद्धार्थनगर नगरपालिकाले अघि सारेको ‘क्लिन, ग्रिन एन्ड इको–फ्रेन्ड्ली सिटी’ अभियानअन्तर्गत सडक किनारमा लगाइएका फूलहरू ढकमक्क फुल्दा सहरको सौन्दर्य थपिएको हो ।

नगर प्रमुख इश्तियाक अहमद खाँले सहरलाई ‘फूलै फूलको सहर’ बनाउने लक्ष्यसहित मुख्य राजमार्ग तथा सहायक सडकहरूमा फूल रोप्ने अभियान अघि बढाएको बताए । उनका अनुसार बेलहियादेखि विभिन्न वडासम्म सडक किनारमा बोटबिरुवा रोपिएको छ र कर्मचारीहरू सरसफाइ, गोडमेल, मल माटो हाल्ने तथा पानी हाल्ने काममा नियमित रूपमा खटिरहेका छन् ।

नगरपालिकाले मुख्य रूपमा विभिन्न रङका बोगनभिलिया लगायत अन्य फूलहरूको बिरुवा रोपेको जनाएको छ । नगर प्रमुख खाँका अनुसार यो बिरुवा कम पानीमा पनि राम्रोसँग फुल्ने भएकाले सडक सौन्दर्यका लागि उपयुक्त मानिन्छ। केही ठाउँमा चौपायाले बिरुवा नोक्सान पु¥याए पनि बाँकी खाली स्थानमा थप रोपेर सहरलाई अझ सुन्दर बनाइने योजना रहेको उनले बताए ।

स्थानीय व्यवसायी पल्लवी न्यौपानेले सडकबिचमा फुलेका फूलहरूले सहरलाई आकर्षक बनाएको बताउँदै नगर प्रमुखले अघि सारेको ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियानले सकारात्मक परिणाम देखाउन थालेको प्रतिक्रिया दिइन् । बेलहिया नाकादेखि सहर प्रवेश गर्दा सडकबिचका फूलहरूले आगन्तुकको मन प्रफुल्लित बनाउने उनले बताइन् ।

त्यस्तै फलफूल व्यवसायी मुस्ताक अलीले पनि फूलका कारण वातावरण स्वच्छ र आकर्षक बनेको बताए। सीमावर्ती क्षेत्र भएकाले भारततर्फबाट आउने पर्यटकले नेपाल प्रवेश गर्ने बित्तिकै सहरको सुन्दरता महसुस गर्ने गरेको उनको भनाइ छ ।

स्थानीयले फूलहरूको संरक्षणमा नागरिकको पनि भूमिका महत्त्वपूर्ण हुने भन्दै सहरको सौन्दर्य जोगाउन सबैले सचेत हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?