Butwal Today

सेवा विस्तारसँगै बिरामीको चाप बढ्यो

४ चैत्र २०८२, बुधबार
अ+
अ-

नवलपरासी । जिल्लाको पृथ्वीचन्द्र अस्पताल मा पछिल्लो समय बिरामीको चाप ह्वात्तै बढेको छ ।

मौसम परिवर्तनसँगै अस्पतालले सेवा विस्तार गरेपछि दैनिक बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार हाल दैनिक ५ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । जाडो याममा केही घटेको बिरामी सङ्ख्या फागुनको अन्तिम सातादेखि बढ्न थालेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीले सेवा विस्तार र मौसम परिवर्तन दुवै कारणले बिरामीको चाप बढेको बताए । “सेवा थपिएपछि बिरामीको आकर्षण बढेको छ, तर मौसमी रोग पनि प्रमुख कारण बनेको देखिन्छ,” उनले भने । बिरामीको सङ्ख्या बढेसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कार्यभार पनि बढेको उनले बताए ।

पछिल्लो एक वर्षयता अस्पतालले सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ । दुई महिनाअघि मात्रै मुटु रोग परीक्षण (इको) तथा पेटभित्रको घाउ पत्ता लगाउने इन्डोस्कोपी सेवा सुरु गरिएको छ ।

सघन उपचार कक्ष (आईसियु) सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अघि बढिसकेको छ भने छिट्टै सेवा सुरु गर्ने तयारी गरिएको छ । त्यस्तै आँखाको जाँच, चस्मा निर्माण तथा वितरण सेवा पनि सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

यसैबिच, वर्षौँदेखि प्रयोगविहीन अवस्थामा स्टोरमा राखिएको लाखौँ मूल्यको इको मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालका लेखापाल लल्लन कुर्मीका अनुसार उक्त मेसिन प्रयोगमा आएपछि बिरामीलाई निजी क्लिनिक वा बुटवल–भैरहवा धाउनुपर्ने बाध्यता हटेको छ ।

सङ्घीय सरकारबाट प्राप्त उपकरणमार्फत इन्डोस्कोपी सेवा पनि नियमित सञ्चालनमा छ । साथै, बालरोग विशेषज्ञको आगमनसँगै एनआईसियु सेवा सञ्चालनमा आएको छ भने यसै आर्थिक वर्षदेखि डायलसिस सेवा पनि सुरु गरिएको छ ।

आईसियु सञ्चालनका लागि आवश्यक जनशक्ति भर्ना गरी तालिमसमेत दिइसकिएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट नियुक्त भई अध्यक्षको जिम्मेवारी सम्हालेपछि चौधरीले सेवा विस्तारलाई तीव्रता दिएका छन् ।

पदभार ग्रहण गरेको केही सातामै हेमोडायलसिस सेवा सुरु गरिएको थियो, जसबाट जिल्लाका बिरामीलाई ठूलो राहत पुगेको छ ।

उनकै पहलमा करिब १८ करोड रुपैयाँ लागतमा नयाँ अस्पताल भवन निर्माण कार्य अघि बढाइएको छ । साथै हालै नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञ सेवा पनि विस्तार गरिएको छ ।

अस्पतालमा हिस्टोप्याथोलोजी परीक्षणका लागि सहुलियत दर निर्धारण गरी नमुना सङ्कलन गरी प्रादेशिक प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यसले बिरामीलाई सहजता प्रदान गरेको अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा ८ जनाको दरबन्दी रहे पनि १२ जना विशेषज्ञ चिकित्सक, ५ जना मेडिकल अधिकृत र २ जना डेनटल सर्जन कार्यरत छन् । तर सेवा विस्तारसँगै गैर–प्राविधिक कर्मचारीको अभाव देखिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले सेवा थप्दै गुणस्तर सुधारतर्फ ध्यान केन्द्रित गर्ने र बिरामीलाई सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?