© 2026
गलेश्वर (म्याग्दी) । म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।
जिल्लाको बेनी नगरपालिका—२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका इन्द्र थापा, बासकुनाका तिलक गुरुङ, मङ्गला गाउँपालिका—३ का सन्तनाथ सापकोटालगायत जिल्लाका कैयौँ किसानले तरकारी र फलफूल खेतीमार्फत गाउँमा समृद्धिको नयाँ इतिहास रचेका छन् ।
बेनी—२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । उनले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गरेको उनले जानकारी दिए ।
आफ्नो कमाइबाट बेनी बजार र गाउँमा घर बनाएको कार्कीको भनाइ छ । किसानको कठिनाइबिच मल, बीउ, पानी र बजारको समस्या समाधान गर्दै दिनरात मेहनत गर्नुभएका कार्कीको बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् ।
६५ वर्षीय कार्की जहिले पनि खेतबारीको माटोसँग खेलिरहेको देखिन्छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका अंश ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ जस्तै उनको जीवन पनि सिर्जनात्मक श्रमको प्रत्यक्ष उदाहरण बनेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
कार्कीको सफलताले युवालाई विदेश जानुभन्दा गाउँमा बसेर मेहनत गर्न प्रेरणा दिएको छ । स्थानीय कृषक तेजेन्द्र कार्कीले भने, “कार्की दाइको पसिनाले माटोमा सुन फलाएको छ । उनको खेतबारी जापान, कोरिया वा अमेरिका जस्तै भएका छन् ।”
पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार कार्कीको मिहिनेतले गाउँमा पैसाको प्रवाह बढाएको छ भने स्थानीय बजारमा तरकारी आपूर्ति सहज बनाएको छ । व्यापारीको कारोबार बढ्दा कतिपय युवाले गाउँमा रोजगारी पाउन थालेका उनको भनाइ छ ।
अध्यक्ष गौतमले भने, “जिल्लाका अधिकांश किसान पछिल्लो समय तरकारी र फलफूलको व्यवसायिक खेती गरी मनग्ये आम्दानी गर्दै आएका छन् । सिजनमा सुन्तला बेचेर रु पाँच लाखदेखि रु ४० लाख आम्दानी गर्ने किसान पनि जिल्लामा छन् । तरकारी र फलफूलबाट विदेशमा भन्दा बढी कमाइ गर्न सकिने प्रशस्त उदाहरण म्याग्दीमा देखिन्छन् ।”
कार्कीले रासायनिक मल र विषादी प्रयोग नगरी शुद्ध, अर्ग्यानिक तरकारी उत्पादनलाई प्राथमिकता दिएका छन् । यसले उपभोक्ताको विश्वास जितेको उनको भनाइ छ । बेनी बजारका व्यवसायी टीकाबहादुर पाण्डेले भने, “स्वास्थ्यप्रति सचेत उपभोक्ताले कार्की दाइको उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।”
जिल्लाका किसानले तरकारी र फलफूल खेतीबाट पाएको यो सफलता व्यक्तिगत सफलता मात्रै नभएर सामुदायिक समृद्धिको कथा भएको बताउँछन् । यहाँका किसानको यो उदाहरणीय मिहिनेतले गाउँमा आर्थिक पाटो चलायमान बनाउन, रोजगारी सिर्जना गर्न, समृद्धिका पक्षमा सकारात्मक सन्देश दिएको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले धारणा राखे ।