Butwal Today

समाचारमा समावेशी दृष्टिकोण र लैङ्गिक संवेदनशीलता अपरिहार्य

४ चैत्र २०८२, बुधबार
अ+
अ-

रुपन्देही ।

मिडिया एड्भोकेसी ग्रुपको आयोजनामा समावेशी र नैतिक रिपोर्टिङ गलत जानकारी र मिथ्या सूचना , तथा अनलाइनमा आधारित हिंसा विषयक दुई दिने तालिम सुरु भएको छ।

बुटवलमा आयोजित २ दिने तालिममा समाचारमा लैङ्गिक समानता, जिम्मेवार सूचना सम्प्रेषण र डिजिटल सुरक्षाबारे पत्रकारहरुलाई सचेत गराउने उद्देश्यले तालिम आयोजन गरिएको आयोजकले जनाएको छ। पत्रकारहरुले समाचार लेखन र प्रस्तुतीकरणमा समावेशी दृष्टिकोण अपनाउने, मिथ्या सूचना र गलत जानकारी पहिचान गर्ने तथा त्यसविरुद्ध प्रभावकारी रूपमा कलम चलाउनु पर्ने अहिले आवश्यकता भएको आयोजकले बताए ।

कार्यक्रममा प्रशिक्षक उमेश पोखरेलले ‘जेन्डर संवेदनशील पत्रकारिता विषयमा प्रस्तुतीकरण दिँदै समाचारमा देखिने लैङ्गिक पूर्वाग्रह, भाषिक प्रयोग र संरचनागत असमानताबारे विस्तृत छलफल गराएका थिए। उनले विशेषगरी राजनीतिक समाचारमा महिलाप्रति हुने पूर्वाग्रही प्रस्तुतीकरणलाई सुधार गर्नुपर्नेमा जोड दिए।

त्यस्तै अर्का प्रशिक्षक हरि बहादुर थापाले राज्यका विभिन्न अंग र शासन व्यवस्थामा महिला प्रतिनिधित्वको अवस्थाबारे चर्चा गर्दै मिडियाले सामाजिक मुद्दालाई कति प्राथमिकता दिनुपर्छ भन्ने विषयमा अन्तरसंवाद गराए। उनले समाचारमा महिलाको उपस्थिति र दृष्टिकोणलाई सन्तुलित रूपमा समेट्नुपर्ने बताए।

तालिममा सहभागीहरूबीच संसदिय समाचारमा देखिने लैङ्गिक पूर्वाग्रह, सामाजिक तथा लैङ्गिक मुद्दाको समावेशी प्रस्तुतिकरण, र समाचार भाषामा सुधार गर्नुपर्ने पक्षहरूबारे गहन छलफल भएको थियो। विशेषगरी लैङ्गिक पूर्वाग्रह सम्बन्धी शब्द चयन र प्रयोगलाई परिमार्जन गर्दै संवेदनशील र जिम्मेवार पत्रकारिता अभ्यासमा जोड दिइएको थियो। भोलिसम्म सञ्चालन हुने यस्तो प्रकारको तालिमले पत्रकारहरूलाई समावेशी, उत्तरदायी र विश्वसनीय पत्रकारिता गर्न थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?