© 2026
काठमाडौं ।
निर्वाचनको नतिजा आएसँगै संघीय संसद् सचिवालय प्रतिनिधिसभा बैठकको तयारीमा लागेको छ । राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथसँगै आगामी सभाको सञ्चालनको सन्दर्भमा संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको हो ।
बिहीबार निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । योसँगै निर्वाचन आयोगले यसको जानकारी संघीय संसद् सचिवालयलाई पनि दिनेछ । नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका भए ।
संविधानको धारा ८८ मा संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा ५ मा ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने’ प्रावधान छ ।
यी संवैधानिक व्यवस्थाअनुसार सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यलेनै प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् । जसअनुसार आगामी प्रतिनिधिसभाको सुरुवातको अध्यक्षता नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद अर्जुन नरसिंह केसीले गर्ने भएका हुन् । ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ । सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो जिम्मेवारी समाप्त हुनेछ ।
पहिलो बैठक कसरी चल्छ के के हुन्छन एजेन्डा
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सदस्य सहभागी भएको सर्वदलीय बैठक बसेर पहिलो दिनको एजेण्डा तय गरिन्छ । सामान्यतया पहिलो बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र परढेर सुनाइन्छ । सरकारबाट प्राप्त हुने महत्वपूर्ण पत्रहरू पढेर सुनाउने अभ्यास पनि छ । नयाँ निर्वाचनपछि प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । यसकारण यसबीचमा सरकार बनेको र मन्त्रिपरिषद्मा को–को रहेको भन्ने जानकारी प्रतिनिधिसभालाई सरकारले गराउनेछ । यसबाहेक प्रतिनिधिसभाको पहिलो बैठकमा सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि निर्णयार्थ प्रस्तुत गर्ने वा प्रतिनिधिसभा निवयमावलीलाई नै मानेर जाने भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यसपछि सभामुख चयनको कार्यतालिका प्रस्तुत हुनेछ । पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने अभ्यास छ । यसबाहेक कुनै प्रस्ताव प्राप्त भए प्रतिनिधिसभाले त्यसलाई पारित गर्नेछ र पहिलो बैठक समापन हुनेछ । दोस्रो बैठक सिधै सभामुख चयनका लागि वा अन्य कार्यसूचीमा समेत बस्न सकेछ । सभाको बैठकअगाडि बढेसँगै संसदीय विषयगत समिति गठनको प्रक्रिया सुरु हुनेछ ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् । दुई वटा संसदीय समिति संयुक्त समिति समेत रहेका छन् । १२ वटा समितिमा कुन दलका को–को सांसद रहने भनेर तय भएपछि संसदीय समितिको बैठक बस्न सुरु हुनेछ । संसदीय समितिको गठन र संसदीय समितिको सभापतिको निर्वाचन सभाबाटै तालिका तोकेर गर्ने अभ्यास छ । प्रतिनिधिसभाले कार्यसञ्चालन नियमावली नयाँ बनाउन चाहेको खण्डमा नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि मात्रै संसदीय समिति गठन लगायतका कार्य अगाडि बढ्नेछन् ।
पुरानै नियमावली अनुसार जाँदा छिटो संसदीय समिति गठन हुन सक्नेछन् । संसदीय सुनुवाइ समिति तत्काल बनाउनुपर्ने दबाब नयाँ प्रतिनिधिसभालाई छ ।किनभने प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको छ । न्याय परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको नाम संवैधानिक परिषद्मा पुगेको छ ।
संवैधानिक परिषद्ले एक जनाको नाम सिफारिस गरेपछि त्यसउपर संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सक्नेछन् । यी लगायतका कार्यबोझलाई समेत ख्याल गरेर प्रतिनिधिसभाको पहिलो बैठक र त्यसपछिका बैठकको कार्यसूची तय गरिने संसद् सचिवालयले जनाएको छ । यसका लागि संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय बैठक राखेर अगाडि बढ्ने बताएको छ।