Butwal Today

बेमौसमी वर्षाले नवलपरासीमा गहुँबाली नष्ट

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

पाल्हीनन्दन ।
हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ । यही सोमबारको वर्षाले पनि नवलपरासीका गहुँबाली नष्ट भएको पाल्हीनन्दन गाउँपालिका–४ निवासी प्रमोद पटेलले बताए ।

किसान पटेलका अनुसार उहाँको मात्र दुई बिघा गहुँबाली नष्ट भएको छ । त्यस्तै उहाँको जस्तै यहाँका अरु किसनाहरूको पनि गहुँबाली जमिनमा ढलेको छ । कात्तिकको दोस्रो सातापछि लगाइएको गहुँ एक महिनापछि भित्र्याउने बेला हुन्छ । वर्षाले तरकारी, मकै, उखु, आँप, लिच्चीजस्ता फललाई फाइदा तथा वायुप्रदूषण सफा गरे पनि गहुँबालीलाई भने क्षति पुर्‍याएको पटेलको भनाइ छ । स्थानीय तह गाउँपालिकाका कृषि शाखाका कर्मचारी वर्षापछि गहुँबाली अनुगमन गर्न नआएको किसान पटेलले गुनासो गरे। जमिनमा ढलेका गहुँमा दाना नलाग्ने पीडित किसानको भनाइ छ ।

रामग्राम नगरपालिका–४ निवासी अर्जुन क्षेत्रीले ढलेका गुहुँमा दाना नलाग्ने भएकाले आफूसहित यहाँका किसानले ठूलो क्षति ब्यहोर्नुपर्ने बताए । उनले किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे । यद्यपी वर्षाबाट गहुँबालीमा क्षति भएको भन्ने अहिलेसम्म लिखित तथा मौखिक रूपमा गुनासो नआएको गाउँपालीकाले बताएको छ । वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको भए किसानले गुनासो गर्ने तर हालसम्म त्यस्तो कुनै गुनासो नआएको सरावल गाउँपालिकाका कृषि विकास शाखाका कविता कार्कीले बताईन। यद्यपी गाउँपालिकाका कुनै पनि अधिकारी गहुँबाली क्षतिबारे अध्ययन गर्न फिल्डमा नआएको किसानको गुनासो छ ।

यस आर्थिक वर्षमा जिल्लाभर दश हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका योजना एवं बागबानी विकास अधिकृत नवराज घिमिरेले बताए । गत हप्ताको वर्षा र हावाहुरीले धेरै ठाउँमा गहुँबाली ढालेकाले उत्पादनमा कमि आउने उनको भनाइ छ । कषि ज्ञान केन्द्र नवलपरासीका सूचना अधिकारी एवम् वरिष्ठ कृषि विस्तार अधिकारी चन्द्रप्रकाश गुप्ताले वर्षाबाट गहुँबालीमा क्षति भएको भनेर अहिलेसम्म किसानले निवेदन नदिएको बताए । उनले निवदेन परेको अवस्थामा केन्द्रले खेतबारीमा गएर अध्ययन गर्ने उल्लेख गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?