Butwal Today

सुविधा पुगेका गाउँ, रित्तिएका बस्ती

सडक, बिजुली र इन्टरनेट जस्ता आधुनिक सुविधाहरू गाउँ–गाउँमा पुगे तापनि अर्घाखाँचीका बस्तीहरू तीव्र बसाइसराइले गर्दा रित्तिँदै गएका छन् । विगत ३० वर्षमा खेतीयोग्य जमिन उल्लेख्य रूपमा घटेर झन्डै आधा भएको छ, जसले गर्दा भविष्यमा गम्भीर खाद्य सङ्कटको जोखिम बढाएको छ ।
३ चैत्र २०८२, मंगलवार
अ+
अ-

अर्घाखाँची । गाउँ गाउँमा पक्की सडक पुगेको छ । खानेपानी, बिजुली र इन्टरनेटको सुविधा उपलब्ध छ । माध्यमिक तहका विद्यालय र आधारभूत स्वास्थ्य सेवा गाउँमै छ ।

एम्बुलेन्स घर आँगनमै पुग्छ । लामो समय विकासबाट टाढा रहेका बस्तीहरूमा अहिले आधुनिक सुविधाको झल्को दिन्छन् ।

अधिकांश वृद्ध वृद्धादेखि युवाहरूको हातमा स्मार्ट फोन छ । विदेश र सहर गएका घरपरिवार तथा नातागोतासँग घरमै बसेर भिडियो कल गर्छन् । तर यति धेरै सुविधा पुगेका गाउँहरू रित्तिँदै छन् । खेतबारी बाझिँदै छन् ।

तीव्र बसाइसराइले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाझिँने क्रम बढ्दो छ । पछिल्लो दशकमा ७ हजार ३ सय ६२ हेक्टर खेतीयोग्य जमिन बाँझिएको तथ्याङ्क छ । कृषि विकास कार्यालयका अनुसार ३० वर्षअघि ४५ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो ।

२०७० सम्म आइपुग्दा त्यो क्षेत्रफल २८ हजार ६ सय ९ हेक्टरमा झ¥यो । अहिले जम्मा २१ हजार २ सय ४७ हेक्टरमा मात्र खेती भइरहेको छ ।

यो गिरावटले दीर्घकालमा खाद्य सुरक्षामा चुनौती निम्त्याउन सक्छ । शितगंगा नगरपालिका–११ छापमा केही वर्षअघि ४५ घरपरिवार बसोबास गर्थे । अहिले सबै घर खाली छन् । ५० घर रहेको दुम्सी गाउँ पनि रित्तिएको छ । सिङ्गो गाउँ नै तराई झरेपछि खेतबारी बाझिएका छन् ।

शितगंगा–१० सिद्धाराका माधवप्रसाद पौडेल भन्छन्, “गाउँ नै रित्तो बनाएर धेरै परिवार कपिलवस्तुको लुंग्री, मौवावारी, खयरभट्टी र ढोडेनीतिर बसाइँ सरे ।” सिद्धाराकै झाते, पात्ले र उनाए गाउँ पनि बिस्तारै खाली हुँदै गएका छन् । जङ्गली जनावरबाट खेती जोगाउनै नसकेर पनि गाउँबाट बसाइँ सरेका छन् ।

पहिले टारी र बगरमा खेत बनाएर धान र गहुँ लगाइन्थ्यो । खेत बाँझै राख्नु हुँदैन भन्ने सोच थियो । अहिले नयाँ खेत बनाउने क्रम रोकिएको छ । पहिले खेती भइरहेका जमिनमा खर र वनमारा उम्रिएको छ ।

नेपाल सरकारको व्यक्तिगत घटना दर्ता तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा अर्घाखाँचीबाट ५ हजार ८२ घरपरिवार बसाइँ सरेका छन् । औसत पाँच जनाको दरले हिसाब गर्दा झन्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् ।

जनसङ्ख्याको यो घट्दो प्रवृत्ति जनगणनामा पनि देखिन्छ । २०६८ को राष्ट्रिय जनगणनामा १ लाख ९७ हजार ६ सय ३२ जनसङ्ख्या रहेको अर्घाखाँची २०७८ मा १ लाख ७७ हजार ८६ मा झ¥यो ।

दश वर्षमा २० हजारभन्दा बढी जनसङ्ख्या घट्नु सामान्य घटना होइन । बसाइँ सराई अर्घाखाँचीका ६ वटै पालिकाबाट भइरहेको छ । शिक्षा, रोजगारी, सहज जीवनशैली र समथर जमिनको आकर्षणले तराईतिरको यात्रा बढ्दो छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले नयाँ प्रविधि, हाइब्रिड बिउ र रासायनिक मलको प्रयोगले उत्पादनमा कमी आएको छैन । तर जमिन नै बाझिँदै गएकाले भविष्यमा खाद्य सङ्कटको जोखिम बढेको छ ।

उनका अनुसार “उत्पादन बढे पनि खेती हुने क्षेत्रफल घट्दै जानु दीर्घकालीन रूपमा खतरनाक सङ्केत हो ।”
हरेक निर्वाचनमा राजनीतिक दलहरूले बसाइँ सराई रोक्ने, युवालाई गाउँमै स्वरोजगार बनाउने र उद्यमशीलता विकास गर्ने कार्यक्रम ल्याउने वाचा गर्छन् । तर चुनावपछि ती प्रतिबद्धता कार्यान्वयनमा कमजोर देखिन्छन् ।

पूर्व उपसभामुख पुष्पा भुसाल भन्छिन्, “विकासको प्रतिफल नागरिकको अपेक्षा अनुसार नपुगेकोले बसाइँ सराई बढेको छ ।” विकाससँगै रोजगारी र उद्यमशीलता बढाउन सके मात्र पलायन रोकिने उनको भनाइ छ उनको भनाइमा सडक र भवन निर्माण मात्र विकास होइन, स्थायी आयआर्जनको अवसर सिर्जना गर्नु नै मुख्य हो ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा बसाइँ सराई भएको बताए । उनी भन्छन्, “उद्यमशीलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।”

अर्घाखाँचीमा धार्मिक तथा प्राकृतिक पर्यटनको ठुलो सम्भावना छ । सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, नर्सिंह स्थान र सिद्धेश्वर शिवालय जस्ता स्थललाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना हुन सक्ने र बसाइँ सराई रोकिने उनको भनाइ छ । पर्यटनसँगै कृषि–आधारित उद्यम, जस्तै अर्ग्यानिक उत्पादन, प्रशोधन उद्योग, एग्रो–टुरिज्म जस्ता कार्यक्रमले युवालाई गाउँमै आकर्षित गर्न सक्छ ।

अर्घाखाँची अहिले परिवर्तनको दोबाटोमा छ । विकासका पूर्वाधार पुगे पनि जनशक्ति बाहिरिँदा गाउँ रित्तिँदै छन् । खेतबारी बाझिँदै जाँदा उत्पादन प्रणाली कमजोर बन्दै छ । बसाइसराइको मूल कारण—रोजगारी अभाव, कृषिको जोखिम, बजार अस्थिरता र सामाजिक सेवा गुणस्तर—लाई सम्बोधन गर्न सकिएन भने बाँझो जमिनको क्षेत्र अझ बढ्न सक्छ ।

सही नीति, प्रभावकारी कार्यान्वयन र स्थानीय सहभागिताले अर्घाखाँचीका पहाड फेरि हरियालीले ढाकिन सक्छन् । विकासको वास्तविक अर्थ गाउँमै अवसर सिर्जना गर्नु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?