Butwal Today

पाल्पा र अर्घाखाँचीका वनमा तीनवटा पाटेबाघ भेटिए

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

बुटवल । पाल्पा र अर्घाखाँचीमा तीन वटा बाघ अभिलेख भएका छन्। त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागले पाल्पा र अर्घाखाँचीमा राखेका क्यामरा ट्रयापमा तीन वटा बाघ देखिएका हुन्।

पाल्पाको माथागढी गाउँपालिकाको माथागढी किल्ला आसपास, तिनाउ गाउँपालिकाको झुम्सा खोलाभन्दा माथि र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको रजियानजिकै राखिएका क्यामेरामा बाघ देखा परेको त्रिविका प्राध्यापक तथा अध्ययन टोली संयोजक डा. हरिप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार यी तीनवटै बाघ वयस्क अवस्थाका छन्।

पाल्पाको माथागढी गाउँपालिकामा १ हजार १ सय १० मिटर उचाइँ र तिनाउको झुम्सा खोला भन्दा माथि ५ सय ३६ मिटर उचाइँमा बाघ ट्र्यापमा परेका हुन्। यस्तै अर्घाखाँचीको शीतगंगाको रजियामा ९ सय ३४ मिटर उचाइँमा बाघ भेटिएको र यो क्षेत्र मानिस ओहोरदोहोर गर्ने बाटोकै आसपासमा पर्ने डा शर्माले बताए।

उनका अनुसार पाल्पामा ४४ वटा र अर्घाखाँचीमा ५० वटा क्यामेरा ट्र्याप राखिएका थिए। करीब ८ सय वर्ग किलोमिटरमा यी ९४ वटा क्यामेरा जडान गरिएको र पाँच/पाँच वर्ग किलोमिटरको एउटा ग्रीड बनाएर २५ वर्ग किलोमिटरमा ४ वटा क्यामेरा राखिएको थियो।

उनका अनुसार करीब २०-२१ दिनसम्म गरिएको अध्ययनअनुसार तीनवटा बाघ फेला परेका हुन्। पाल्पामा माघको २० र ३० गते र अर्घाखाँचीमा फागुन ४ र ५ गते क्यामेरा सेट गरिएको थियो। पाल्पाको माथागढीमा फागुन ३ र ४ गते अर्घाखाँचीमा फागुन ३० मा बाघ ट्र्याक गरिएको हो।

चितुवाको संख्या भने बाघको तुलनामा धेरै छ। पाल्पामा १८/१९ वटा र अर्घाखाँचीमा १९/२० वटा चितुवा क्यामेरामा ट्र्याप भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?