© 2026
नेपालगन्ज। बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राईले चुनावका क्रममा गरेको महत्त्वपूर्ण प्रतिबद्धता छोटो समयमै पूरा गरेका छन् ।
निर्वाचन ताका उनले जित हासिल गरेपछि १५ दिनभित्र मालपोत कार्यालयमा हेल्प डेस्क स्थापना गरी निःशुल्क रूपमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को श्रेस्ता कायम गराउने बताएका थिए ।
सोही प्रतिबद्धता अनुसार राईले प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गर्दै मालपोत कार्यालयमा हेल्प डेस्क सञ्चालनमा ल्याएका छन् ।
हेल्प डेस्कको उद्घाटन गर्दै नवनिर्वाचित सांसद राईले हाल जनशक्ति अभाव रहेको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा लिन आग्रह गरे । “अहिले जनशक्ति सीमित छ, त्यसैले जसले लेखापढी व्यवसायीलाई शुल्क तिर्न सक्दैनन्, उनीहरूले यो सेवा लिनुहोस्,” उनले भने, “आगामी दिनमा जनशक्ति थप गरेर सबैलाई सेवा दिने व्यवस्था मिलाइनेछ ।”
हाल ‘जेनजी आन्दोलन’ का क्रममा जलेका लालपुर्जा पुनः बनाउनका लागि मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढिरहेको छ । सामान्यतया लालपुर्जाको स्रेस्ता कायम गराउन लेखापढी व्यवसायीले २ हजारदेखि ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । तर, हेल्प डेस्कमार्फत यो सेवा निःशुल्क उपलब्ध हुने भएपछि सर्वसाधारणलाई ठुलो राहत पुगेको छ ।
हेल्प डेस्क उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, मालपोत कार्यालयका प्रमुख सविन सिंह चौधरीलगायतको उपस्थिति रहेको थियो ।