© 2026
बुटवल । नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्यासको वितरण सहज बनाउन बिक्रेताहरुलाई कारोबारको सम्पूर्ण विवरण दैनिक रुपमा पेश गर्न निर्देशन गरेको छ ।
निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुषालले निगमको भलवारी कार्यालय मातहतमा रहेका जिल्लाका सबै ग्यास डिलरले उद्योगबाट प्राप्त गरेको र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण कारोबार दैनिक रुपमा जिल्ला प्रशासन र निगमको प्रादेशिक कार्यालयमा बुझाउनु पर्ने प्रावधान गरिएको बताए ।
‘बिक्रेताबाट हुन सक्ने कृत्रिम अभाव र उपभोक्ताले बढी खरिद गरेर मौज्दात राख्ने प्रवृति रोक्न यो नियम लागू गरिएको हो,’ भुषालले भने, ‘यसले उपभोक्ताले ग्यास नपाएको गुनासोमा धेरै कमी आउन थालेको छ ।’
भुषालका अनुसार यो नियमबाट ग्यास डिलरले उद्योगबाट प्राप्त गरे अनुरुपको ग्यासको परिमाणबारे स्पष्ट थाहा हुन्छ । भने, ‘उपभोक्तालाई नागरिकता तथा परिचय पक्र नम्बर लिएर बित्री गरेको विवरण दैनिक पेस गर्नुपर्छ । ‘यसबाट एउटै उभोक्ताले बारम्बार किनेर मौज्दात राखेको पनि थाहा हुन्छ,’ उनले भने ।
पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन नसकेको गुनासो बढेपछि आपूर्ती सहज बनाउन र कृत्रिम अभाव हुन नदिन रुपन्देहीको भलवारीस्थित निगमको प्रादेशिक कार्यालयले यस्तो प्रावधान गरेको हो ।
रुपन्देहीको भलवारीस्थित निगमको लुम्बिनी प्रादेशिक कार्यालयले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, पूर्वी रुकुम र बाग्लुङमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति गर्दै आएको छ।
प्रादेशिक कार्यालयका अनुसार यहाँ गत पुस र माघको तुलनामा फागुनमा ग्यासको आयात करिब १ हजार मेट्रिक टन बढी भएको थियो । यो कार्यालयमार्फत् गत पुसमा ६ हजार ७ सय ५८ र माघमा ६ हजार ५ सय ७५ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा भने ७ हजार ४ सय ८८ मेट्रिक टन आयात भएको थियो ।
ग्यास आयातमा पहिला भन्दा केही बढेको र अहिले पनि माग अनुरुप ग्यास आयात नियमित भइरहेको भुषालले बताए । ‘पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले मौज्जात राख्न एक्कासी माग गर्दा बितरण प्रणालीमा केही असहज भएको हो,’ उनले भने, ‘यो नियमले दुई–चार दिन भित्रमा ग्यास पाइएन भन्ने गुनासो आउँदैन ।’