© 2026
खोस्ट(अफगानिस्तान) । पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा तीन जना बालबालिका र एक जना महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार दुई पक्ष बीच सीमापार झडपका कारण गत हप्तामा अफगानिस्तानमा १८ जना सर्वसाधारण मारिएका थिए ।
आइतवार राती पाकिस्तानी सेनाले गुरबुज जिल्लाको नारी गाउँमा गरेको गोलाबारीमा एक महिला र एक बच्चाको मृत्यु भएको पूर्वी खोस्ट प्रान्तका गभर्नरका प्रवक्ता मुस्तघफिर गुरबुजलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
स्वास्थ्य क्लिनिक र अर्को गाउँमा भएको गोलाबारीमा एक जना महिलासहित चार जना घाइते भएको जनाइएको छ भने घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अफगानको खोस्त क्षेत्रमा आइतबार भएको पाकिस्तानी गोलाबारीमा दुई जना बालबालिकाको मृत्यु भएको गभर्नरको कार्यालयले विज्ञप्ति मार्फत जनाएको हो ।
आइतबार पूर्वी नुरिस्तान प्रान्तमा गोलाबारी हुँदा एक व्यक्तिको मृत्यु भएको सरकारका उप प्रवक्ता हमदुल्ला फित्रतले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।
यस अघि शुक्रबार अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरी– २६ मा पाकिस्तानसँगको झडपमा ७५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।
इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी तालिबान (टिटिपी) का लडाकुहरूलाई शरण दिएको आरोप लगाएको छ भने अफगान तालिबान अधिकारीहरूले उक्त आरोप अस्वीकार गरेका छन् ।
गत अक्टोबरमा दुई देशबिचको लडाइँमा दर्जनौँ मानिस मारिए पछि बन्द भएको सीमा मध्यस्थता पछि सहज भएको थियो । तर फेब्रुअरी– २६ मा अफगानिस्तानले पाकिस्तानी हवाई आक्रमणको बदलामा सीमा आक्रमण सुरु गरेपछि द्वन्द्व फेरि भड्किएको थियो ।
त्यसपछि पाकिस्तानले फेब्रुअरी – २७ मा राजधानी काबुलमा बमबारी गर्दै तालिबान अधिकारीहरू विरुद्ध “खुला युद्ध“ घोषणा गरेको थियो
पछिल्लो समयमा बारम्बारको सीमा द्वन्द्वले व्यापार स्थिर भएको र करीव ११ लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ ।
विश्व खाद्य कार्यक्रमले आइतवार २० हजार भन्दा बढी विस्थापित अफगान परिवारलाई खाना वितरण गर्न थालेको भने थप अस्थिरताले लाखौंलाई भोकमरीमा धकेल्ने चेतावनी दिएको छ । रासस