Butwal Today

तस्करी नियन्त्रणमा सहकार्यको पहल

२ चैत्र २०८२, सोमबार
अ+
अ-

बुटवल । सीमावर्ती सहर भैरहवा तथा आसपासका क्षेत्रमा उद्योग–व्यापारको वातावरण सुरक्षित बनाउने र सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण गर्ने विषयमा आइतबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र जिल्लास्थित सुरक्षा निकायका प्रमुखबिच छलफल भएको छ ।

सङ्घको पहलमा आयोजित छलफलमा उद्योगी–व्यवसायीको सुरक्षा, सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा व्यापार सहजीकरणका विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले वैध रूपमा व्यापार गर्ने व्यवसायीलाई सुरक्षाकर्मीले सहयोग गर्नुपर्ने र अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

सीमा क्षेत्रमा बढ्दो चोरी–तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले थप सक्रियता देखाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग–व्यवसायको सुरक्षा र औद्योगिक क्षेत्रको संरक्षणमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताए ।

सुरक्षाकर्मी सक्रिय भए अवैध गतिविधि स्वतः न्यून हुने र उद्योगी–व्यवसायीको मनोबल पनि उच्च रहने उनको धारणा थियो ।

देश हाल आर्थिक तथा राजनीतिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आन्दोलन तथा अस्थिरताका कारण उद्योग–व्यवसाय प्रभावित भइरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य भीष्मप्रसाद न्यौपानेले सीमा क्षेत्रमा लागू औषध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा पनि त्यत्तिकै कडाइ आवश्यक रहेको बताए ।

महासङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सामाजिक क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायको हितमा प्रहरी प्रशासनले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

सङ्घका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रहरी प्रशासनले निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरे उद्योग–व्यवसायको वातावरण स्वतः सुधार हुने उल्लेख गरे ।

विगतमा व्यवसायीले प्रशासनबाट विभिन्न समस्या झेल्दै आएको भन्दै उनले नयाँ नेतृत्वले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।

सङ्घका सल्लाहकार विष्णुप्रसाद शर्माले सुरक्षा व्यवस्थालाई आधुनिक प्रविधिसँग जोड्न सके अपराध नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

यसै गरी पेट्रोलियम व्यवसायी राजु पौडेलले किसानले ग्यालेन वा ट्याङ्कीमा डिजेल लैजाँदा प्रहरीले अवरोध गर्ने गरेको गुनासो गर्दै इन्धन वितरणलाई सहज बनाउन आग्रह गरे ।

व्यवसायी गंगासागर अग्रहरीले सीमा क्षेत्रमा अझै व्यापक रूपमा तस्करी भइरहेको उल्लेख गर्दै दैनिक मोटरसाइकलमार्फत चिनी, किराना तथा खाद्यान्न सामग्री नेपाल भित्रिने गरेको बताए ।

व्यवसायी पशुपति कान्दुले खुला सीमाका कारण स्थानीय व्यवसाय प्रभावित भइरहेको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर सक्रिय भूमिका खेलेको बताए ।

भारतबाट तस्करी भएर आएका सामान नेपालभित्र कसले खरिद गरी बिक्री वितरण गर्छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको भन्दै त्यसतर्फ व्यवसायीले समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले उद्योगी–व्यवसायीका समस्या र चासोप्रति प्रहरी प्रशासन सचेत रहेको बताउँदै सहकार्यका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा उद्योगी–व्यवसायी र सुरक्षा निकायबिच सीमा क्षेत्रको सुरक्षा सुदृढ गर्दै वैध व्यापार प्रवर्द्धन गर्ने विषयमा सहकार्य गर्ने सहमति गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?