Butwal Today

समानुपातिक: काङग्रेसले गंगा शाहीको नाम अन्तिममा किन काट्यो

२ चैत्र २०८२, सोमबार
अ+
अ-

रुपन्देही ।

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीको नाम अन्तिम समयमा काटिएको छ। कांग्रेसले खसआर्य महिला कोटाबाट शाहीलाई समानुपातिक सांसदका लागि हिजो साँझ मात्रै सिफारिस गरेको थियो। तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीमा भने उनको नाम हटाइएको छ।

शाहीको स्थानमा पुरुष क्लष्टरबाट कालिबहादुर सहकारीलाई समावेश गरिएको छ। अन्तिम समयमा सूची फेरबदल भएपछि रुपन्देहीका कांग्रेसी कार्यकर्ता निराश बनेका छन्। यसबारे बुटवल टुडेसँगको संवादमा प्रतिक्रिया दिँदै शाहीले भनिन्, “अन्ततः सूची अगाडि–पछाडि गराउने शक्ति पार्टीकै केही नेताहरूको हातमा हुँदोरहेछ। हामीले वर्षौँसम्म पार्टीका लागि गरेको योगदान, संघर्ष र निष्ठाको मूल्याङ्कन केवल सूचीको अग्रपङ्तिमा नाम परेर मात्रै हुँदोरहेन रहेछ। राजनीतिमा चतुर खेलाडीहरू पास हुने रहेछन्, तर हामीजस्ता इमान्दार सिपाहीहरू भने बारम्बार फेल हुनुपर्ने रहेछ। तर पनि पार्टी र सिद्धान्तप्रतिको मेरो विश्वास र निष्ठा भने कहिल्यै कमजोर हुने छैन।” महिलाहरुले अझै पनि संबिधनाले दिएको अधिकार पाउन समेत दल भित्र कडा सङ्घर्ष गरिरहनुपर्ने रैछ शाहिले भनिन।

रुपन्देही कुनै समय नेपाली काङ्ग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणँको बलियो फकड क्षेत्र हो ।पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कांग्रेसले प्रत्यक्षतर्फ जित निकाल्न नसकेको अवस्थामा समानुपातिकबाट सांसद पाउने आशा गरिएको थियो। तर नाम काटिएको घटनापछि पार्टीभित्र अन्तर्घात लगायतका विषयहरू पनि चर्चामा आएका छन्। लामो समयदेखि पार्टीमा क्रियाशील रहेकी शाही कांग्रेसकी पूर्व केन्द्रीय सदस्य हुन्।

सबै राजनीतिक दलहरूले समानुपातिक सांसदको नाम सार्वजनिक गर्दा पनि नेपाली कांग्रेसमा नाम दिन केही आनाकानी भएको थियो। यसबारे पार्टी प्रवक्ता देवराज चालिसेले बुटवल टुडेसँगको संवादमा स्पष्ट धारणा समेत दिन चाहेनन्। उनले भने, “हामीले आयोगमा पठाएका छौँ, त्यसअनुसार आयोगले सार्वजनिक गर्छ। केही नाम हाम्रो पक्षमा राखिएको छ। खसआर्य कोटामा पुरुषको नाम पनि पठाएका छौँ , प्रतिशतमा नमिल्ने अवस्था भए मात्रै गंगा शाहीको नाम आउने छ ।उनले भने , पार्टीले निर्णय गरेका केही कुरा सार्वजनिक गर्न मिल्दैन । यो समयमा हामी व्यक्ति भन्दा पार्टिको हितमा सकारात्मक छौँ चालिसेले भने ।

अहिले यस विषयलाई लिएर पार्टी भित्र आलोचना सुरु भएको छ। शीर्ष नेताहरूका अनुसार गुटगत द्वन्द्वका कारण समानुपातिक सूचीमा असर परेको हो। वर्तमान सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाका पक्षधरबीचको लडाइँले आम कार्यकर्तालाई पनि विभाजित बनाएको छ। केही शीर्ष नेताहरूका अनुसार, शेरबहादुर पक्षधरलाई समानुपातिकबाट हटाइएको।

काङ्ग्रेसबाट को को बने प्रतिनिधि सभा सदस्यहरु

काङ्ग्रेसले आदिवासी जनजाति २८.७ प्रतिशत तर्फबाट पुरुषबाट भिष्मराज आङ्देम्बे पुरुष , मदनकृष्ण श्रेष्ठ (अपांग), महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा प्रतिनिधि सभा सदस्य भएका छन । त्यसैगरी खसआर्यमा ३१.२ प्रतिशतमा पुरुषतर्फ अर्जुननरसिंह केसी पुरुष, कालीबहादुर सहकारी पुरुष, महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलितबाट दलित १३.८ प्रतिशत हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्मा सिफारिस भएका छन् । मधेसी कोटाबाट १५.३ प्रतिशत चन्द्रमोहन यादव पुरुष, निनुकुमारी कर्ण र रेखाकुमारी यादव छन् भने मुस्लिम कोटा ४.४ प्रतिशतबाट साहजान खातुन प्रतिनिधि सभा सदस्य बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?