Butwal Today

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

२ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा डा.रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताएका छन ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतको सरकार गठन हुने र त्यसले राजनीतिक स्थिरता कायम भई आर्थिक नीतिमा स्थायित्व आउने अपेक्षा गर्न सकिने उनले उल्लेख गरे । उनले सरकारले आर्थिक नीतिमा स्थायित्व कायम गर्नु, जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिनु र निजी क्षेत्रको लगानी वातावरण सुधार गर्नु आवश्यक रहेकामा जोड दिए।

“सरकार परिवर्तनसँगै आर्थिक नीतिमा बारम्बार परिवर्तन गर्दा व्यावसायिक क्षेत्र र लगानीकर्तामा अनिश्चितता सिर्जना हुन्छ । एक वर्ष एउटा नीति र अर्को वर्ष अर्को नीति परिवर्तन गर्ने प्रवृत्तिले व्यावसायिक अपेक्षामा प्रतिकूल प्रभाव पार्छ”, प्रा डा. ज्ञवालीले भने, “अब नयाँ सरकार आफ्नो कार्यकालसम्म रहने जनताले अपेक्षा गरेका छन् । त्यस्तो सरकारबाट आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास गर्न सकिन्छ ।” नयाँ सरकारले पाँच वर्षसम्म आर्थिक नीतिमा स्पष्टता र स्थायित्वको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय मुलुकमा सरकारी लगानीको अनुपात केही सुधार हुँदै गएको भए पनि निजी क्षेत्रको लगानी भने अझै अपेक्षाअनुसार बढ्न नसकेको उनले उल्लेख गरे । प्रा डा.ज्ञवालीले जेनजी आन्दोलनका क्रममा उद्योग–व्यवसायीका क्षेत्रमा भएको क्षति र परेको असरले लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्ने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?