© 2026
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–स्थित गल्धाकी गौरीमाया सोतीलाई आफ्नै बारीमा आफ्नै हातले रोपेको सिमी जर्मनीको भान्सासम्म पुग्ला भन्ने कल्पना समेत थिएन । तर, गत वर्षदेखि उनीजस्तै गल्धाका कृषकहरूले उत्पादन गरेको सिमी र प्रशोधित अदुवा राम्रो मूल्यमा जर्मनीसम्म पुग्न थालेपछि स्थानीय किसानहरू निकै उत्साहित भएका छन् ।
पहिलेदेखि अदुवा र सिमी उत्पादन गर्दै आएका गल्धाका किसानहरूले आफ्नो उत्पादन कम मूल्यमा स्थानीय बजारमै बिक्री गर्दै आएका थिए । तर गत वर्षदेखि हेफर इन्टरनेशनलको सहयोग तथा स्थानीय साझेदार संस्था ग्रामीण आर्थिक विकास संघको व्यवस्थापनमा यहाँ उत्पादन भएका कृषि उपज उच्च मूल्यमा युरोपको बजारसम्म पुग्न थालेका छन् ।
परम्परागत खेती प्रणालीमा निर्भर कृषकहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्रबाट बीउको गुणस्तर सुधार तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक यान्त्रिकीकरणमा सहयोग पुगेपछि उत्पादन बढ्न थालेको छ । साथै, गल्धा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध महिलाहरूको आर्थिक विकासमा पनि थप टेवा पुगेको सहकारीकी अध्यक्ष अममाया मश्राङ्गीले बताइन् ।
परम्परागत रूपमा उत्पादन हुने सिमी र अदुवाको व्यवस्थित बजार नहुँदा किसानहरू समस्यामा पर्ने गरेका थिए । गल्धामा छरिएर रहेका किसानहरूलाई एकीकृत गर्ने काम सहकारीमार्फत भएको हो । सहकारीमार्फत संकलन भएपछि पहिले १ सय ५० रुपैयाँमा बिक्री हुने सिमी अहिले २ सय २० रुपैयाँसम्ममा बिक्री गर्न पाउँदा किसानहरू निकै खुशी भएको स्थानीय गौरीमाया सोती बताउँछिन् । उनका अनुसार यस वर्ष मात्र सिमी बिक्रीबाट उनले १ लाख ८ हजार ३ सय २५ रुपैयाँ आम्दानी गरेकी छन् ।
सहकारीमार्फत सिमी र अदुवाको बजारीकरण हुन थालेपछि किसानहरू तौल र मूल्यमा ठगिनु परेको छैन । गत वर्षबाट सुरु भएको यो पहलका कारण यहाँका ४० भन्दा बढी सहकारी सदस्यहरू श्रम गरेर आफ्नै खर्च चलाउन सक्षम भएको स्थानीय मुना आलेले बताइन् । “हाम्रो उत्पादन युरोपको बजारसम्म पुग्ला र राम्रो मूल्य पाइएला भन्ने कल्पना पनि गरेका थिएनौं,” उनले भनिन्, “अहिले भने माग अनुसार मूल्य पाइरहेका छौं, त्यसैले सबै किसान खुसी छन् ।”
यस वर्ष आफूले मात्रै ४४ हजार रुपैयाँ बराबरको सिमी बिक्री गरेको जोगिसरा राईले जानकारी दिइन् ।
सहकारीका कारण कृषि उपजको बजारीकरण मात्र नभई गोठमा पालिएका खसी–बोका र कुखुराको बिक्रीमा समेत सहयोग पुगेको किसानहरू बताउँछन् ।
हेफर इन्टरनेशनलका साझेदार संस्था ग्रामीण आर्थिक विकास संघका निर्देशक लीलाबहादुर कार्कीका अनुसार यहाँ उत्पादन हुने सिमी र अदुवा विषादीरहित जैविक मल प्रयोग गरेर उत्पादन गरिएको हो । “किसानहरूलाई अर्गानिक उत्पादनका लागि तालिम दिइएको छ। अर्गानिक प्रमाणिकरण प्राप्त गर्न पनि धेरै मेहनत गर्नुपरेको थियो,” उनले भने ।
सहकारीकी सदस्य रिमाया वयम्बुका अनुसार सिमी र अदुवा बिक्रीबाट प्राप्त आम्दानीले वर्षभरि खाद्यान्न किनेर खान सहयोग पुगेको छ । यहाँ तीन महिना दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउँदा घरखर्च तथा बच्चाहरूको विद्यालय खर्च धान्न सहज भएको स्थानीय नारायणी ढुङ्गानाले बताइन् ।
सहकारीकी व्यवस्थापक डिलमाया सारूका अनुसार महिलाहरूको आर्थिक तथा सामाजिक नेतृत्व विकास गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको थियो । “सुरुमा धेरै आलोचना सहनुपरेको थियो, तर अहिले सबैले प्रशंसा गर्न थालेका छन्,” उनले भनिन् ।
हेफर इन्टरनेशनलको सहयोगमा यहाँ उत्पादन भएको सिमी र अदुवा नेदरल्याण्ड्स हुँदै जर्मनी निर्यात हुन थालेपछि स्थानीय महिलाहरूको आर्थिक उन्नति र सामाजिक सशक्तिकरणमा ठूलो परिवर्तन आएको उनले बताइन् ।
गत वर्ष मात्र २८ हजार ३ सय ६ केजी सिमी खरिद गरी करिब ३८ लाख ९५ हजार रुपैयाँ बराबरको निर्यात गरिएको थियो । त्यस्तै १४ हजार ५ सय ६० केजी प्रशोधित अदुवा करिब ७१ लाख ९१ हजार १ सय ८४ रुपैयाँ बराबरको निर्यात भएको थियो ।
यस वर्ष २ सय ३० रुपैयाँ प्रति केजीका दरले ४२ हजार ७ सय ९२ केजी सिमी खरिद गरिएको छ । ग्रेडिङपछि करिब ३६ हजार ३ सय ३० केजी सिमी निर्यात गरी करिब ८३ लाख ५५ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको व्यवस्थापक सारूले बताइन् ।
त्यसैगरी अदुवा प्रशोधन गरी प्रति केजी ६० रुपैयाँका दरले करिब १ लाख १३ हजार ६ सय ५४ केजी अदुवा निर्यात भई करिब ६८ लाख २८ हजार रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको छ । उत्पादन भए बजारको समस्या नहुने तर माग अनुसार आपूर्ति गर्न भने अझै कठिन भएको उनले बताइन् ।
सहकारी सदस्यहरूले पालेका खसी–बोकाको बजारीकरण पनि सहज भएको छ । यस वर्ष मात्रै करिब १ करोड ८१ लाख ६ हजार २ सय ५८ रुपैयाँ बराबरको खसी–बोका बिक्री भएको सहकारीले जनाएको छ ।