© 2026
बुटवल । बुटवलको सुख्खानगरस्थित मानव सेवा आश्रममा जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सहकारीले आश्रममा रहेका ५५ जना आश्रितलाई भोजन गराएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष हिमलाल भट्टराईले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी समाजसँग जोडिने कार्यमार्फत मनाउनुपर्ने बताए । उनले सहकारीको उद्देश्य आर्थिक कारोबारसँगै सामाजिक सेवामा पनि सक्रिय रहने रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
निवर्तमान अध्यक्ष लक्ष्मण बस्यालले सहकारी संस्थाहरूले समुदायसँग प्रत्यक्ष सम्बन्ध राखेर सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । उनले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूसँग समय बिताउन पाउँदा सहकारी परिवारलाई विशेष सन्तोष मिलेको उल्लेख गरे ।
सहकारीका सचिव कृष्ण पोख्रेलले सहकारीले विगतदेखि नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा गरिएको भोजन कार्यक्रमले सहकार्य र मानवताको सन्देश दिएको बताए ।

कार्यक्रम संयोजक थानेश्वर अर्यालले सहकारीका सदस्य र पदाधिकारीको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताए । उनले यस्ता कार्यक्रमले सहकारीलाई समाजसँग अझ नजिक बनाउने विश्वास व्यक्त गरे ।
मानव सेवा आश्रमका संयोजक शेरबहादुर गौतमले सहकारी संस्थाले आश्रममा आश्रित व्यक्तिहरूलाई सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले आश्रमका बासिन्दालाई ठूलो हौसला मिल्ने बताए । आश्रमकी सहसंयोजक रिता थापाले यस्ता कामले पुण्य प्राप्त हुने बताइन् ।
सहकारीले स्थापना दिवसको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम समेत गरेको थियो । सहकारीका अनुसार सामाजिक सेवामूलक गतिविधिमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।