Butwal Today

जिल्ला अस्पतालका डाक्टर अचेत अवस्थामा फेला, हेलिकप्टरबाट सुर्खेत पठाइयो

१ चैत्र २०८२, आइतबार
अ+
अ-

सल्यान । जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अस्पताल परिसरमै अचेत अवस्थामा फेला परेका छन् ।

अस्पतालमा कार्यरत ३७ वर्षीय एमडीजीपी चिकित्सक डा. बुद्धिनाथ शाह आइतबार बिहान अचेत अवस्थामा फेला परेका हुन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक तथा जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन कुमार बुढामगरका अनुसार बिहान नियमित रूपमा हुने बिरामी जाँचमा डा. शाह उपस्थित नभएपछि सहकर्मीहरूले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा अस्पताल परिसरभित्र निर्माणाधीन भवन नजिकै उनी अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा फेला परेपछि उनलाई तत्काल जिल्ला अस्पतालमै ल्याई प्राथमिक उपचार गरिएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रारम्भमा काठमाडौँ वा पोखरामा हेलिकप्टरमार्फत पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण सम्भव हुन सकेन । त्यसपछि जिल्ला प्रशासन कार्यालय सल्यानले गृह मन्त्रालयमार्फत समन्वय गरी नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएको थियो ।

सोही हेलिकप्टरमार्फत डा. शाहलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको हो ।उनीसँगै जिल्ला अस्पताल सल्यानबाट दुई जना डाक्टर पनि सुर्खेत पठाइएको अस्पतालले जनाएको छ ।

हाल सुर्खेतस्थित प्रदेश अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रमुख डा. बुढामगरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?