© 2026
भैरहवा । जिल्लामा शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा समसामयिक विषयमा सहकार्य बढाउने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघको सचिवालयमा आइतबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका नवआगन्तुक प्रहरी उपरीक्षक जनक बहादुर शाही र सशस्त्र प्रहरी बल सीमा सुरक्षाका सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा सँग उद्योगी–व्यवसायी तथा सरोकारवालाबीच छलफल गरिएको हो ।
कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था, सीमा क्षेत्रमा हुने गतिविधि, उद्योग–व्यवसायको सुरक्षा तथा समुदाय–प्रहरी सहकार्यका विषयमा विचार आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको बताए । उनले उद्योगी–व्यवसायी, नागरिक समाज र प्रहरीबीच सहकार्य बलियो भएमा अपराध नियन्त्रण र सुरक्षित वातावरण निर्माणमा थप प्रभावकारी हुने उल्लेख गरे । “समुदायको सहयोगबिना प्रहरीले मात्रै सुरक्षा व्यवस्था मजबुत बनाउन सक्दैन । त्यसैले सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ,” उनले भने ।
त्यसैगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षाका सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले नेपाल–भारत सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, तस्करी रोकथाम तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी सक्रिय रहेको बताए । उनले सीमाक्षेत्रमा सुरक्षा चुनौती न्यूनीकरण गर्न स्थानीय समुदाय, उद्योगी–व्यवसायी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले जिल्लाको सुरक्षा अवस्था, सीमा नाकामा देखिएका समस्या तथा व्यवसाय सञ्चालनमा देखिएका चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमले सुरक्षा निकाय र निजी क्षेत्रबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।