Butwal Today

हाँडेभिर बगरफाँट भकिम्ली सडक स्तरोन्नति गरिँदै

३० फाल्गुन २०८२, शनिबार
अ+
अ-
म्याग्दी ।
ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर बगरफाँट दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका(२ को हाँडेभिर(बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर(बगरफाँट(भकिम्ली सडक आयोजना छनोट भएको हो । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले माछापुच्छ्रे हिमालयन जेभीसँग रु १० करोड लागत अनुमान गरी प्रतिस्पर्धामार्फत विसं २०८१ जेठमा ठेक्का सम्झौता गरी आयोजना कार्यान्वयन गराइएको थियो । कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सर्तमा सडक स्तरोन्नतिको जिम्मा लिएको थियो ।
अहिले सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, सम्याउने, बेस तयार गर्ने, खोल्सा र खोलाहरुमा पक्की ढलान गरी पानीलाई निकास दिनेलगायत काम सकेर अब ग्राभेल गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताए। “सडकको ग्राभेलबाहेकको अरू सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्रमा ग्राभेलका लागि बेस राख्ने काम सुरु हुन्छ”, उनले भने ।
बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने काम सकिएको र अब  ग्राभेलसहित स्तरोन्नति गरिने भण्डारीले बताए। उनका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक कालोपत्र भइसकेको छ । सडक स्तरोन्नतिको मापदण्डअनुसार बगरफाँटबाट दूधेखोलासम्मको करिब साढे दुई किमी सडकलाई आठ मिटर फराकिलो बनाइएको सडक स्तरोन्नति सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले बताए । अब ग्राभेलसहित स्तरोन्नति गरिने उनको भनाइ छ । सोही सडक स्तरोन्नति आयोजनाअन्तर्गत दूधेखोलाबाट भकिम्ली जोड्ने सडकको विभिन्न ठाउँमा ३९० मिटर ढलान गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रबिन चोखालले जानकारी दिए ।
सडक स्तरोन्नतिपछि बागलुङको ताराखोलाबाट म्याग्दीको मङ्गला गाउँपालिका ३ र ४ वडामा पर्ने बरङ्जा, अर्मन, बेनी नगरपालिकाका मुसुङडोले, थामडाँडा, बास्कुना, अर्जेखोलालगायत भकिम्ली, हल्लेगौडा, दूधेखोला र बगरफाँटका बासिन्दालाई सहज हुनेछ । उत्पादित सुन्तला, फलफूल, तरकारी, दूधलगायतका कृषि उपजको बजारीकरण र आवतजावतमा सहज हुने भएपछि स्थानीय खुसी भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?