© 2026
गुल्मी । राष्ट्रिय राजमार्ग अन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक एक महिनाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।
उक्त सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका स्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने कार्य सुरु हुने भएको हुँदा कारण चैत एक गतेदेखि चैत ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाको मिति २०८२ फागुन २८ गतेको पत्र अनुसार उक्त राजमार्गको अति संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकोले दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी गराएका छन् ।
प्रशासनले सो सडक स्तरोन्नतिको काम गर्दा सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमनका गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रूपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रूपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न आग्रह गरेको छ ।
प्रशासनले सडक स्तरोन्नतिको काम सुचारु रूपमा सम्पन्न गर्नका लागि सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध समेत गरेको छ ।
प्रशासनले बिहीबार सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिना चौबिसै घण्टा बन्द रहने जनाएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले गत माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रूपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।