Butwal Today

सीपलाई व्यवहारमा उतार्दै साइ ग्लोबलको खाना महोत्सव

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

भैरहवा ।
भैरहवा स्थित साइ ग्लोबल एकेडेमीले विद्यार्थीले सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्दै व्यवसायसँग जोड्ने उद्देश्यले शनिबार बृहत् खाना महोत्सव आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका प्राचार्य लक्ष्मण ज्ञवालीले कार्यक्रमबारे जानकारी दिँदै विद्यालय र कलेज तहका विद्यार्थीको संयुक्त सहभागितामा महोत्सवलाई यसपटक व्यबहारिक सीप सगँ जोड्ने बताए।

उनका अनुसार होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको अगुवाइमा आयोजना हुने महोत्सवमा विभिन्न सांस्कृतिक नृत्य कार्यक्रम पनि प्रस्तुत गरिनेछ। मार्केटिङ, फाइनान्स, अर्थशास्त्र र होटल व्यवस्थापन विषयसँग सम्बन्धित ज्ञानलाई व्यवहारमा उतार्ने अभ्यासका रूपमा महोत्सव आयोजना गरिएको उनले बताए।

महोत्सवमा १६ वटा स्टल रहनेछन्, जहाँ भैरहवा क्षेत्रका रैथानेसहित विभिन्न जातीय तथा समुदायका परिकार उपलब्ध हुनेछन्। कार्यक्रममा करिब २ हजार ५ सयदेखि ३ हजारसम्म दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवबाट प्राप्त आम्दानी संस्थाको नाफाका लागि नभई सामाजिक तथा मानवीय सहयोगमा प्रयोग गरिने जनाइएको छ।

एकेडेमीका अध्यक्ष दिनेशमान अमात्यका अनुसार सोही अवसरमा शैक्षिक गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड चिन्ह हस्तान्तरण तथा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ। लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यस्ता कार्यक्रमले विद्यार्थीको व्यवहारिक सीप विकासमा टेवा पुग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?