© 2026
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सुरक्षार्थ राखिएको सुन तथा चाँदीका सामाग्री राखिएको सेफ लाई कपिलवस्तु संग्राहलयको जिम्मा लगाइएको छ ।
२०४२ साल अघि फेला परेर संग्राहलयमा राखिएकोमा सशस्त्र द्वन्दका समयमा कपिलवस्तु संग्राहलयले २०५८ साल चैत्र १८ गते ती सुन चाँदीका सामाग्री कपिलवस्तु प्रहरीलाई सुरक्षार्थ जिम्मा लगाएको थियो ।
सेफ भित्र सुरक्षित राखिएको सो खजानालाई सेफको चाबी दुरुस्त अवस्थामा भेटिए पछि कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले कपिलवस्तु संग्राहलयकी प्रमुख शान्ति शर्मालाई हस्तान्तरण गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सम्सेर दल गणका प्रमुख सेनानी बिदुर ध्वज अधिकारी, नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, संग्राहलयका कर्मचारी शंकर घितालको रोहवरमा सो खजानाको सेफ हस्तान्तरण गरिएको हो ।
सेफमा २०४२ साल अघि हाल जिल्लाको शुद्धोधन गाउँपालिका १ पतरिया (साबिकको पतरिया गाउँ पञ्चायत वडा नं. ५) को सुर्यवलिया र सोहसामा किसानले खेत खन्ने क्रममा सो तिन स्थानमा सो खजाना फेला पारेका थिए ।
जसमा तामाको भाडामा राखिएको २ थान असर्फी, १ थान राज औँठी, १ थान बेरुवा औँठी, २ थान कढा रहेका छन् । ती करिब २३ तोलाको हाराहारीमा सुनको खजाना रहेको जनाइएको छ । यसै गरी ब्रिटिस सरकारको पालाको भिक्टोरिया अङ्कित ३४ वटा चाँदीको सिक्का र मोहम्मद मुमतिनको पालाको २८ वटा चाँदीका सिक्का समेत रहेको सेफ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सुरक्षित राखिएको थियो ।
विगतमा सुरक्षा संवेदनशीलतालाई मध्य नजर गरि जिल्ला प्रहरी कार्यालयमा सुरक्षाका लागी राखिएको पुरातात्त्विक सामाग्रीहरू प्राप्त गरेर तत्काल कपिलवस्तु संग्राहलयमा सुरक्षित राख्ने र भविष्यमा संरक्षण सम्बद्र्धन गरेर संग्राहलयमा प्रदर्शनीमा राखिने कपिलवस्तु संग्राहलयकी प्रमुख शान्ति शेर्माले बताइन ।
विगतमा सुरक्षाको दृष्टिकोणले प्रहरीमा राखिएको सेफ सहितको सुन चाँदीका सामाग्री कपिलवस्तु संग्राहलयलाई हस्तान्तरण गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जनाए ।