Butwal Today

तिलोत्तमामा एलपी ग्याँस अभावको गुनासोपछि अनुगमन

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा खाना पकाउने एलपी ग्याँस अभाव भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन थालेको छ।

उपभोक्ताले विभिन्न स्थानमा ग्याँस सहज रूपमा नपाएको, केही पसलमा ग्याँस लुकाएर राखिएको तथा खरिद गर्न जाँदा “स्टक सकियो” भन्ने जवाफ पाएको गुनासो गर्न थालेपछि नगरपालिकाले सरोकारवाला निकायको सहभागितामा अनुगमन अभियान सञ्चालन गरेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालले बताएका छन् ।

अनुगमन टोलीले ग्याँस डिलर, खुद्रा विक्रेता तथा उद्योगसम्म पुगेर बजारको वास्तविक अवस्था बुझ्ने प्रयास गरेको छ। अनुगमनमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, नगरका कर्मचारी, तिलोत्तमा व्यापार सङ्घ, उद्योग व्यापार सङ्गठन तिलोत्तमा, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ का प्रतिनिधि तथा नगर प्रहरीको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा बोल्दै उपप्रमुख चौधरीले बजारमा कृत्रिम रूपमा ग्याँस अभाव सिर्जना गर्ने जो–कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट चेतावनी दिएकी छन्। उनले व्यापारी तथा विक्रेतालाई उपभोक्ताको समस्याप्रति संवेदनशील हुन आग्रह गर्दै ग्याँस लुकाएर राख्ने, अनावश्यक रूपमा बिक्री रोकेर अभाव देखाउने वा कालोबजारी गर्ने गतिविधि नगर्न आग्रह गरिन्।

“बजारमा ग्याँस अभाव भएको गुनासो आएपछि हामीले तुरुन्तै अनुगमन सुरु गरेका छौँ। कसैले कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कडा कारबाही हुन्छ,” उपप्रमुख चौधरीले भनिन्। साथै उनले उपभोक्तालाई पनि घरमा आवश्यकताभन्दा बढी ग्याँस सिलिन्डर भण्डारण नगर्न आग्रह गरिन्। उनका अनुसार उद्योगमा ग्याँसको आपूर्ति पर्याप्त रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिइएको छ।

तिलोत्तमामा सञ्चालित सिद्धार्थ ग्याँस उद्योग का व्यवस्थापक लक्ष्मण पाण्डे ले बजारमा ग्याँसको आपूर्ति सामान्य अवस्थामा रहेको बताएका छन्। उनका अनुसार उद्योगमा ग्याँस पर्याप्त मात्रामा उपलब्ध रहेको र वितरण नियमित रूपमा भइरहेको छ। “ग्याँसको आपूर्ति सामान्य छ, उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन,” उनले बताए।

त्यस्तै स्वस्तिक ग्याँस उद्योग का व्यवस्थापकले पनि ग्याँस पर्याप्त आयात भइरहेको जानकारी दिएका छन्। उनका अनुसार केही स्थानमा देखिएको समस्या अस्थायी हुनसक्ने वा उपभोक्ताले हाउगुजीका कारण घर तथा पसलमा आवश्यकता भन्दा बढी भण्डारण गर्दा अभाव जस्तो देखिएको हुन सक्छ।

अनुगमन टोलीले विक्रेतालाई उपभोक्तालाई नियमित रूपमा ग्याँस उपलब्ध गराउन निर्देशन दिएको छ। साथै ग्याँस लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने पाइएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनाल का अनुसार उपभोक्ताबाट गुनासो आएका करिब पाँच वटा पसलमा अनुगमन गरिएको थियो। ती पसलमा ग्याँस लुकाएर राख्ने वा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि भने नदेखिएको उनले जानकारी दिए।

अनुगमन कार्यमा राजस्व शाखा प्रमुख इन्द्रदत्त सापकोटा, ज्ञानेन्द्र कार्की, अध्यक्ष, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ, प्रेम जिएम अध्यक्ष, उद्योग व्यापार सङ्गठन तिलोत्तमा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा नगर प्रहरीको उपस्थिति रहेको थियो।

नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर आवश्यक कदम चालिने जनाएको छ। साथै उपभोक्तालाई हल्लाको पछि नलागी नियमित वितरण प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?