Butwal Today

छल्दी खोलामा झोलुङ्गे पुल

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

गुल्मी ।  जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको भार वहन क्षमता ७९९ जना मानिस अट्ने रहेको छ । पुल बनेसँगै घण्टौँ समय लगाएर यात्रा गर्नुपर्ने बाध्यता टरेको स्थानीयले बताएका छन् ।

स्थानीय रामबहादुर मुखियाले खोला वारि र पारि रहेका बस्तीलाई जोड्नका लागि झोलुङ्गे पुलले ठुलो सहयोग पुगेको बताए । “हिउँद याममा खोला तरेर वारिपारि गरिन्थ्यो, तर वर्षा याममा त्यही नजिकै जान पनि तलबाट धेरै घुमेर जानुपर्थ्यो, अब त्यो समस्या टरेको छ”, उनले खुसी हुँदै भने ।

झोलुङ्गे पुल बनेपछि पर्यटकीय स्थल विचित्र गुफा जान र हिमालय मावि पुग्ने विद्यार्थीलाई समेत ठुलो राहत पुगेको स्थानीय बोमलाल भण्डारीले बताए । पुलका कारण त्यस क्षेत्रमा घुमघाम गर्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको स्थानीय तारा बोहोराले बताए ।

पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई सहज भएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । मदन भण्डारी राजमार्गको छेउबाट उक्त झोलुङ्गे पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सकिन्छ । लामो पुलका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?