Butwal Today

बाँच्दैन भनेको शिशु सांसद बन्यो

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची  । गाउँलेहरूका यी शब्द आज पनि सम्झँदा आमा निमकला भुसालका आँखा भिज्छन् ।

त्यो दिनको पीडा, डर र आशङ्काले भरिएको क्षण अहिले पनि उनको मनमा ताजै छ । तर समयले यस्तो मोड लियो, जसलाई धेरैले बाँच्दैन भनेका थिए, त्यही छोरा आज देशको सर्वोच्च विधायिकी थलो संसद्सम्म पुगेका छन् ।

२०४५ साल कार्तिक २४ गते औँसी अर्थात् लक्ष्मीपूजाकै दिन अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ धारापानीको बाजाखर्कमा एक शिशुको जन्म भयो । आमा निमकला भुसाल र बुवा दोलप्रसाद भुसालका कोखबाट जन्मिएको त्यो बच्चा सात महिनामै संसारमा आएको थियो । जन्मिएपछि शिशु रोएन भनेर घरपरिवार र आफन्तहरू सबैको मनमा एउटै डर थियो—“यो बच्चा अब बाँच्दैन ।”

त्यो क्षण घरभित्र खुसीभन्दा बढी पीडा थियो । नवजात शिशु नरोएपछि परिवारका सदस्यहरू रुँदै बसेका थिए । गाउँलेहरू पनि आशङ्काले भरिएका थिए । तर जीवन कहिलेकाहीँ चमत्कारिक कथा जस्तै हुन्छ । त्यही शिशु समयसँगै बाँच्दै गयो, हुर्कँदै गयो र आज ३७ वर्षपछि देशको संसदमा जनप्रतिनिधि बनेर उभिएको छ ।

सात महिनामा जन्मेको त्यो बालक अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हरि प्रसाद भुसाल हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका भुसाल ३५ हजार २३ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पीताम्बर भुसालले २२ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् । यसरी भुसालले १२ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन् । नेपाली काँग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् ।

सात महिनामा जन्मिएको बच्चा बाँच्दैन भन्ने कुरा सुनेपछि आमा निमकला भुसालको मनमा ठुलो पीडा थियो । जन्माएको त्यो बच्चा बाँच्ला कि नबाँच्ला भन्ने चिन्ता सधैँ रहन्थ्यो ।

तर आज परिस्थिति पूर्ण रूपमा फेरिएको छ । त्यही छोरा सांसद बनेपछि आमा निमकला भुसाललाई टीका, अबिर र फूल मालाले सम्मान गर्दै बधाई दिन आउनेहरूको घुइँचो लागिरहेको छ ।

हरि प्रसाद भुसालको जीवन यात्रा साधारण श्रमबाट सुरु भएको कथा हो । करिब दुई दशकसम्म उनले पत्रकारितासँगै आर्टिस्टको काम गर्दै बजारका पसल र सडक किनारका साईनबोर्डमा अक्षर कोर्दै जीवन अगाडि बढाए ।

त्यो मेहनतले भरिएको यात्राले आज नयाँ उचाइ पाएको छ । कहिले पसलका बोर्डमा अक्षर कोर्ने हात अहिले देशका कानुनका अक्षर कोर्ने जिम्मेवारीमा पुगेका छन् । सन्धिखर्कमा मिडिया सञ्चालन गर्दै आएका भुसाल लेखक र कलाकारका रूपमा पनि परिचित छन् । उनी नयाँ एफएमका सञ्चालक हुन् भने स्वतन्त्र पत्रकार सङ्घ अर्घाखाँचीका पूर्व जिल्ला अध्यक्ष समेत रहिसकेका छन् ।

त्यस्तै, लायन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष र अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिवको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् । भुसालको राजनीतिक यात्रा सहज थिएन । २०७३ सालमा विवेकशील पार्टीको तर्फबाट प्रदेश सांसदको उम्मेदवार बनेका उनी पराजित भए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर उनले करिब ३ हजार २ सय मत प्राप्त गरेका थिए । त्यो परिणाम धेरैका लागि सानो देखिए पनि भुसालका लागि त्यो एउटा सुरुवात थियो ।

त्यसपछि उनले गाउँ–गाउँ पुगेर सङ्गठन विस्तार गर्ने कामलाई निरन्तरता दिए । अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सङ्गठन निर्माण गर्न र गाउँ स्तरमा समिति गठन गर्न उनले महत्त्वपूर्ण भूमिका खेले । यही निरन्तरता र जनतासँगको सम्बन्धका कारण यस पटक भने उनी व्यापक मतसहित विजयी हुन सफल भएका छन्  ।

पत्रकारिता, कला, व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय रहँदै उनले समाजका समस्या नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवले उनलाई राजनीतितर्फ आकर्षित गरेको देखिन्छ । स्पष्ट, निर्भीक र यथार्थ कुरा बोल्ने स्वभावका कारण भुसाल पछिल्लो समय विशेष गरी युवा पुस्तामाझ लोकप्रिय बनेका छन् ।

उनको यात्रा धेरै युवाका लागि प्रेरणादायी बनेको छ । किनभने उनी कुनै ठुलो राजनीतिक परिवारबाट आएका नेता होइनन् । उनी साधारण परिवारबाट उठेका, श्रम र सङ्घर्षले जीवन बनाएका व्यक्ति हुन् ।

अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका थिए। निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो । त्यसमध्ये ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरुष मतदाताले मतदान गरेका थिए ।

निर्वाचनमा विजयी भएपछि हरि प्रसाद भुसालले आफ्नो पहिलो सम्बोधनमा जनताको विश्वासप्रति आभार व्यक्त गरेका छन् । उनले यो जितलाई आफ्नो व्यक्तिगत सफलता नभई अर्घाखाँचीवासीको आशा र विश्वासको जित भएको बताएका छन् ।

“जनताको चाहना र भावना अनुरूप काम गर्नेछु । अर्घाखाँचीका समस्या र जनताको आवाज संसद्सम्म पु¥याउने मेरो प्राथमिकता हुनेछ,” उनले भनेका छन् । साथै उनले आफूलाई मत दिने मतदाता, समर्थक र शुभेच्छुक सबैप्रति धन्यवाद व्यक्त गर्दै जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सात महिनामा जन्मिएको, जन्मिँदा नरोएको र धेरैले बाँच्दैन भनेको बच्चा आज संसद्सम्म पुगेको कथा केवल एउटा व्यक्तिको सफलता मात्र होइन । यो कथा धैर्य, मेहनत र आशाको कथा हो

पत्रकारितामा कलम चलाएको र साईनबोर्डका अक्षर कोर्ने हातले आज संसदका कानुनका अक्षर कोर्न पाएको यो यात्रा अर्घाखाँचीका लागि मात्र होइन, संघर्षमा विश्वास गर्ने सबैका लागि प्रेरणाको उदाहरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?