Butwal Today

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ ।

विभिन्न गैर कानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका २१ नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैर आवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको छ ।

यसै गरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।

कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।

साथै दूतावासले अवैध रूपमा र अप्ठ्यारो अवस्थामा बसिरहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणको लागि नेपाली राजदूतावास बैंकक वा गैर आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ्ग केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएको देखिन्छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरिदिने गरेको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यान्मा थाइल्यान्डलगायत मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?