Butwal Today

लुम्बिनी प्रदेशस्तरीय महोत्सव घोराहीमा सुरु

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

लमही ।  घोराहीमा लुम्बिनी प्रदेशस्तरीय महोत्सव बिहीबारदेखि सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ सुरु भएको हो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरेका हुन । ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटन गर्दै मन्त्री न्यौपानेले सरकार र निजी क्षेत्र मिलेर उद्यमशीलतामा कार्य गरिरहेको बताए ।

साना तथा घरेलु उद्योगले उत्पादन गरेको वस्तुले पर्यटकहरू आकर्षण गर्न सक्ने भएकाले उत्पादनलाई पर्यटनसँग जोडेर लैजानुपर्ने उनको भनाई थियो ।

आर्थिक रूपान्तरणका लागि युवाहरूलाई घरेलु तथा साना उद्योगसँग जोडेर अगाडी बढ्न आवश्यक रहेको उनले बताए । लुम्बिनी प्रदेशले साना तथा घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाई थियो । साथै सरकारी क्षेत्र र निजी क्षेत्रको सहकार्यमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ दाङका अध्यक्ष लव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय सरकारले घरेलु तथा साना उद्योगहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेका बताए ।

उनले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय सरकारले करको दायरा घटाउनेदेखि लगानी सुरक्षित गरेर उत्प्रेरणा प्रदान गर्नुपर्ने बताए । उनले स्थानीय उत्पादनमा जोड दिने साना तथा घरेलु उद्योगहरूमा युवाहरूको आकर्षकका लागि सरकारले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले स्थानीय उत्पादन र बजारीकरणमा उपमहानगरपालिकाले काम गर्ने कोसिस गरिरहेको बताउँदै कृषि एवं उद्यमशीलतामा बिचौलिया प्रवृत्ति हटाएकाले यसलाई रोक्नका लागि सरकार र निजी क्षेत्र सहकार्यका साथ अगाडी बढ्नुपर्ने बताए ।

स्थानीय घरेलु तथा साना उद्योगहरू तथा स्थानीय उत्पादनको प्रवर्द्धन एवं स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवको उद्घाटनका अवसरमा सन् २०५० मा दाङको परिकल्पना समावेश गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

महोत्सवको उद्घाटन पूर्व घोराहीमा झाँकी सहितको शोभा यात्रा गरिएको थियो । घोराहीको लखन पार्कबाट सुरु हुने -यालीले बजार परिक्रमा गरेर महोत्सवमा स्थलमा पुगेको थियो । जसमा विभिन्न जातजाति, भेसभुसा, कला संस्कृति समेटिएका झाँकी समावेश गरिएको थियो ।

महोत्सवमा आईफिल टावर, युरोपियन स्ट्रिट, लन्डन ब्रिज, बाल उद्यानहरू, जलपरी, सिंह दरबार आकर्षकको रूपमा राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवमा हरेक दिन केन्द्रीय चर्चित कलाकारहरूदेखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा बद्री पङ्गेनी, राजु परियार, ज्योति मगर, दुर्गेश थापा, कमल गाउँले, एलिना चौहान, टंक तिमल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, प्रिती आले, चक्र बम, रचना रिमाल, प्रताप दास, शान्ता रानी परियार, भुमीका गिरी, जी बब, टीका सानु, सञ्जना श्रेष्ठ, प्रिती पासवान, अञ्जु कुश्मी, राज कुश्मी, सोनी कुश्मी, श्याम राना, कमल बिसीलगायतका कलाकारको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरू सञ्चालन हुने छन् । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् ।

विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरूको आयोजना गरिएको छ । महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरू सञ्चालन हुने छन् ।

जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, कृषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यमशीलता तथा सूचना प्रविधि विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरू सञ्चालन हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?