© 2026
सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नं, १२ बाफ खोला क्षेत्रमा व्यावसायिक आलु खेती किसानका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ ।
यहाँका सयौँ किसानले परम्परागत खेतीबाट व्यावसायिक आलु उत्पादनतर्फ आकर्षित हुँदै वार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्न थालेपछि गाउँका खेतबारीहरू यति बेला आलु लगाइएका चिटिक्क ड्याङले भरिएका देखिन्छन् ।
वडा नं. १२ बाफ खोला तथा आसपासका वडाहरूमा हाल करिब पाँच सय ५० भन्दा बढी घरधुरीका किसान व्यावसायिक आलु खेतीमा संलग्न रहेको वडा अध्यक्ष टिकाराम वलीले जानकारी दिए ।
उनका अनुसार यस क्षेत्रमा आलु खेती किसानका लागि मुख्य नगदे बालीको रूपमा स्थापित हुँदै गएको छ । यहाँका किसानहरूले सामान्यतया पुसको दोस्रो सातादेखि फागुनको पहिलो सातासम्म आलु रोप्ने गर्दछन् ।
आलु रोपाइँपछि चैतको पहिलो सातादेखि गोडमेल सुरु गरिन्छ । गोडमेलपछि ड्याङको बीचभागमा मकैसमेत रोप्ने चलन रहेको स्थानीय किसानहरू बताउँछन् । असार महिनाको अन्तिम सातादेखि भने आलु खन्ने काम सुरु हुने गरेको छ ।
मौसम अनुकूल भएमा आलुको उत्पादन निकै राम्रो हुने अनुभव किसानहरूले सुनाएका छन् । स्थानीय कृषक गोपिलाल वलीका अनुसार यहाँ उत्पादित आलु व्यापारीहरू स्वयं बारीमै आएर खरिद गर्ने भएकाले बजारसम्म ढुवानी गर्ने झन्झट किसानलाई कम हुने गरेको छ ।
“आलु खेती अहिले गाउँका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ,” उनले भने । वडा अध्यक्ष टिकाराम वली स्वयं पनि व्यावसायिक आलु खेतीमा सक्रिय छन् । उनले करिब १८ रोपनी क्षेत्रफलमा २५ क्विन्टल बीउ आलु रोपेको बताए । “मूल्य राम्रो पाएमा करिब १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ, मूल्य घटे पनि ६ देखि ७ लाख रुपैयाँ त कहीँ जाँदैन,” उनले भने ।
पहिले सडक लगायत पूर्वाधारको अभावका कारण किसानहरूले आलु प्रतिक्विन्टल करिब एक हजार पाँच सय रुपैयाँसम्म मात्र बिक्री गर्नुपरेको अनुभव सुनाउँछन् । तर अहिले बजारको पहुँच बढेसँगै बारीबाटै प्रतिक्विन्टल ६ हजारदेखि ७ हजार रुपैयाँसम्म आलु बिक्री हुने गरेको छ ।
बीउ आलु भने प्रतिक्विन्टल १० हजार रुपैयाँसम्ममा बिक्री हुने किसानहरूले बताएका छन् । किसानहरूको अनुभव अनुसार बेलाबखतमा वर्षा हुँदा आलुको उत्पादनमा उल्लेख्य वृद्धि हुने गर्दछ । वर्षा अभाव भएको अवस्थामा किसानहरूले वैकल्पिक सिँचाइ प्रणालीको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय विद्युत् विस्तार भएपछि सिँचाइमा पनि सहजता आएको वडा अध्यक्ष वलीले बताए ।
बागचौर नगरपालिकाका अन्य वडाहरूमा पनि आलु उत्पादन विस्तार हुँदै गएको छ । वडा नं. ४ लौराबाङ, वडा नं. ६ र वडा नं. ११ का किसानहरूले पनि व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् । लौराबाङका किसान महेन्द्र केसीले २० रोपनी क्षेत्रफलमा १६ क्विन्टल बीउ आलु रोपेको बताए ।
यस क्षेत्र आलु खेतीका साथै अदुवा, बेसार, टिमुर, मकै, गहुँ तथा बेमौसमी तरकारी खेतीका लागि पनि उपयुक्त मानिएको छ । स्थानीय तथ्यांक अनुसार साविक बाफ खोला गाविस क्षेत्रबाट गत वर्ष मात्रै करिब १८ करोड रुपैयाँ बराबरको आलु बाहिरिएको थियो ।
त्यसमध्ये वडा नं. १२ बाट मात्रै वार्षिक १० करोड रूपैयाँभन्दा बढीको आलु बिक्री हुने गरेको वडा कार्यालयले जनाएको छ । यहाँ उत्पादित आलु दाङ, नेपालगन्ज, भैरहवा, बुटवल र पोखरा लगायतका सहरहरूमा पुग्ने गरेको छ ।
व्यावसायिक खेती विस्तारसँगै बाफ खोला क्षेत्रले नेपालकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।