© 2026
भैरहवा । मुलुकमा देखिएको राजनीतिक परिवर्तनपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के हुन्छ भन्नेतर्फ चिन्ता र चासो व्यक्त गर्न थालिएको छ ।
यो विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन, व्यापार र लगानीमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर सञ्चालनमा आएको करिब चार वर्ष बित्न लाग्दा पनि विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा स्थानीयमा निराशा बढ्दै गएको छ ।
राजनीतिक परिवर्तनपछि बन्ने नयाँ सरकारले यो विमानस्थललाई वास्तवमै चलाउनेछ कि अघिल्ला सरकारहरूजस्तै प्रतिबद्धता र भाषणमै सीमित रहनेछ भन्ने प्रश्न अहिले सबैको चासोको विषय बनेको छ ।
भैरहवामा सन् १९५८ जुलाई ४ मा आन्तरिक विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको ६४ वर्षपछि मात्र यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।
यो परियोजनाको २०७१ माघ १ गते शिलान्यास गरिएको थियो । लामो निर्माण प्रक्रियापछि २०७९ वैशाख ८ गते विमानस्थल सञ्चालनमा आएको र २०७९ जेठ २ गते औपचारिक उद्घाटन गरिएको थियो ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको यो विमानस्थलले लुम्बिनी आउने बौद्ध तीर्थयात्री, पर्यटक तथा व्यापारिक यात्रुका लागि प्रमुख प्रवेशद्वार बन्ने अपेक्षा गरिएको थियो ।
तर भौतिक संरचना तयार भए पनि अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
सीमित उडान, कम यात्रु
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालन महाशाखा प्रमुख मुरारी प्रसाद ढकालका अनुसार हाल विमानस्थलबाट मुख्य रूपमा थाई एयर एसियाले बैंकक–भैरहवा उडान सातामा दुई दिन आइतबार र बुधबार सञ्चालन गर्दै आएको छ ।
तर उडानमा यात्रु सङ्ख्या निकै कम हुने गरेको विमानस्थल प्रशासन बताउँछ । कतिपय उडानमा ७, १५ वा २७ जना मात्र यात्रु रहेको उदाहरण समेत देखिएको ढकालले बताए ।
उनले विमानस्थल सञ्चालनका लागि विभिन्न उपायहरू प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने सस्तो पर्यटन प्याकेज, भारतसँगको सीमा क्षेत्रका लागि सहज ‘ई–भिसा’ व्यवस्था, राष्ट्रिय ध्वजावाहक कम्पनीहरूले नियमित उडान सञ्चालन, अन्तर्राष्ट्रिय एयरलाइन्सलाई उडानका लागि प्रोत्साहन र पर्यटन गन्तव्यको व्यापक प्रचारप्रसार गर्नुपर्ने उनको सुझाव छ ।
विमानस्थल प्रशासनले पर्यटन व्यवसायी, होटल सङ्घ, ट्राभल एजेन्सी र स्थानीय सरकारसँग सहकार्य गरेर पर्यटक आकर्षित गर्ने योजना अघि बढाएको छ ।
यसै गरी, विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार २०७९ जेठ २ देखि हालसम्म कुल ५७८ आगमन र ५७८ प्रस्थान गरी एक हजार १५६ उडान भएका छन् ।
यस अवधिमा ६८ हजार ५२ यात्रुले विमानस्थल प्रयोग गरेका छन् । आगमन यात्रुको सङ्ख्या ३१ हजार ३१५ रहेको छ भने प्रस्थान यात्रु सङ्ख्या ३६ हजार ७४५ रहेको छ । त्यस्तै चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन २४ सम्म ५५ उडान भएका छन् । जसमा यात्रु सङ्ख्या ६ हजार ८०२ छ भने आगमन सङ्ख्या एक हजार ६९६ र प्रस्थान सङ्ख्या ५ हजार १०६ रहेको छ ।
यसअघि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, जजीरा एयरवेज र फ्लाई दुबई जस्ता वायुसेवा कम्पनीहरूले पनि उडान सुरु गरेका थिए । तर यात्रु अभाव, व्यवस्थापन समस्या तथा काठमाडौं विमानस्थलको निर्माण कार्य सकिएपछि उडानहरू निरन्तर रहन सकेनन् ।
निजी क्षेत्रको ८० अर्ब लगानी जोखिममा
विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन र व्यापार फस्टाउने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट, यातायात र सेवा क्षेत्रमा ठुलो लगानी गरेका छन् ।
उद्योगी–व्यवसायीका अनुसार विमानस्थललाई लक्षित गरेर यस क्षेत्रमा ८० अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको छ । तर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा उक्त लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित बनेको छ ।
होटल व्यवसायीहरूले विमानस्थल सञ्चालनमा नआउँदा पर्यटक घटेको र होटल व्यवसाय समेत प्रभावित भएको बताएका छन् ।
“यो विमानस्थल भैरहवाको भविष्य हो” – चन्द्रप्रकाश श्रेष्ठ
होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भैरहवा तथा समग्र लुम्बिनी क्षेत्रको भविष्यका रूपमा हेर्नुपर्ने बताएका छन् ।
उनका अनुसार यो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएमा यस क्षेत्रलाई ठुलो व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
श्रेष्ठले नयाँ सरकारबाट सुशासन, भ्रष्टाचारको अन्त्य र विकासका काममा तीव्रता आउने अपेक्षा व्यक्त गर्दै विशेष गरी विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
पर्यटन क्षेत्रको गुनासो
सिद्धार्थ होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष किशोर जोशीका अनुसार भैरहवा क्षेत्रले दैनिक १२ देखि १५ सय विदेशी पर्यटक भित्र्याउने सम्भावना राख्छ । तर अध्यागमनमा कर्मचारी अभावका कारण पर्यटकहरूले ३–४ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको छ । अहिले अध्यागमनमा दुई जना मात्र कर्मचारी रहेकाले सेवा सुस्त भएको उनले बताए ।
उनका अनुसार विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अध्यागमन सेवा सुधार, उडान विस्तार तथा पर्यटन पूर्वाधार विकास आवश्यक छ ।
पर्यटनलाई व्यवस्थित बनाउन लुम्बिनी–भैरहवा–बुटवल क्षेत्रलाई जोड्ने दीर्घकालीन योजना समेत आवश्यक रहेको उनले बताएका छन् ।
राजनीतिक परिवर्तनसँगै नयाँ आशा
यस पटकको राजनीतिक परिवर्तनसँगै स्थानीय बासिन्दा र व्यवसायीहरू नयाँ सरकारबाट ठोस निर्णयको अपेक्षा गरिरहेका छन् ।
रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद डा. लेखजंग थापाले निर्वाचन अभियानकै क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने प्रमुख एजेन्डा बनाएका थिए ।
स्थानीय उद्योगी–व्यवसायीका अनुसार यदि केन्द्र सरकार, विमानस्थल प्रशासन, एयरलाइन्स कम्पनी, पर्यटन व्यवसायी र स्थानीय तहबीच समन्वय भयो भने विमानस्थल सहज रूपमा सञ्चालन हुन सक्छ ।
राजनीतिक परिवर्तनपछि बन्न लागेको नयाँ सरकारका लागि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्भवतः विकास र कार्यक्षमताको पहिलो ठुलो परीक्षा बन्ने देखिएको छ ।