Butwal Today

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटु रोग तथा हृदयाघात, मस्तिष्क घात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरण शक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए ।

प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामी दर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् ।  यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्त अल्पता हुनु, बाँझोपन हुनु, गर्भकालीन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या आउने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणा बढी देखिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । नेपालमा बिहीबार वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उनले बताए ।

डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने सक्ने र जसले श्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गरेको डा बुढाथोकीले बताए । नेपालमा  डब्लुएचओको मापदण्डभन्दा बढी नै प्रदूषण भएको उनले बताए ।

वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घ रोग र बालबालिका) का लागि  हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ ।

यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्‍याउन सके हरेक वर्ष नेपालीको आयु तीन दशमलव तीन वर्षले बढ्ने अनुमान गरिएको छ । वायु प्रदूषणकै कारणले वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको र तीमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक पर्दछन् ।

वायु प्रदूषण सवारीसाधनबाट निस्केको धुवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक र विषादीको प्रयोगलगायतबाट हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?