© 2026
रुपन्देही।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवाहरुले बलात्कार तथा हत्या हिंसाविरुद्ध सडक धर्ना दिएका छन्। “हिजो निर्मला, आज इनिशा – भोलि को ?” भन्ने सन्देशसहित युवाहरुले मणिग्राम चोकमा हातमा विभिन्न व्यानर बोकेर विरोध कार्यक्रम गरेका हुन्।
युवाका लागि युवा (YFY) को आयोजनामा भएको उक्त कार्यक्रममा युवायुवतीहरुले समाजमा महिलामाथि हुने बलात्कार तथा हत्या जस्ता घटनाविरुद्ध आवाज उठाएका थिए। “हाम्रो छोरीहरु समाजमा सुरक्षित छन् त ?” र “हिंसारहित समाज हाम्रो सपना” जस्ता नारासहित उनीहरुले सबै नागरिकलाई यस्ता अपराधविरुद्ध एकजुट हुन आह्वान गरेका थिए। कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा वि.क. को बलात्कारपछि भएको हत्याको विरोधस्वरूप आयोजना गरिएको युवाका लागि युवाका संयोजक जीवन पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी ले बलात्कार तथा हत्या जस्ता घटनाले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गर्ने भन्दै यसको रोकथामका लागि राज्य, समाज र नागरिक सबै मिलेर अघि बढ्न आवश्यक रहेको बताए। कार्यक्रममा तिलोत्तमा क्षेत्रका स्थानीय युवायुवती, जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।