Butwal Today

नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

नेपालगञ्ज।
क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधिवारे नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन एनएमए भेरी च्याप्टरको सहकार्यमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन सीएमई कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा.शाश्वत वर्माले पेट–सिटीस् ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यस्तै, सोही अस्पतालका युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा.राहुल यादवले रोबोटिक्स इन युरोलोजी एन्ड युरोअन्कोलोजी आवर एक्सपेरियन्स’ विषयमा प्रस्तुति दिँदै जटिल युरोलोजिकल क्यान्सरका बिरामीहरुमा रोबोटिक सहायताबाट गरिने शल्यक्रियाले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताए।

कार्यक्रमको अर्को सत्रमा म्याक्स सुपर स्पेसियालिटी हस्पिटलका प्रिन्सिपल कन्सल्टेन्ट तथा सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा.शशांक चौधरीले ‘रोल अफ रोबोटिक सर्जरी इन क्यान्सर ट्रिटमेन्ट’ विषयमा बोल्दै न्यून चिरफार मिनिमली इनभेसिभ प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई छिटो निको हुन सहयोग गर्ने बताए। क्षेत्रीय अनुभव साझा गर्दै बाँकेको खजुरास्थित सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा। मुकेश यादवले ‘रोल अफ रेडियोथेरापी इन क्यान्सर केयर’ विषयमा प्रस्तुति दिँदै विभिन्न प्रकारका क्यान्सरको उपचारमा आधुनिक विकिरण उपचार रेडियोथेरापीको महत्वबारे चर्चा गरे ।

म्याक्स सुपर स्पेसियालिटी हस्पिटल लखनउले एउटै छानामुनि २५ वर्षदेखि समग्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ । अस्पतालमा सर्जिकल अन्कोलोजी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी तथा अत्याधुनिक रेडिएसन थेरापी सेवा उपलब्ध छन् । अस्पतालमा जटिल क्यान्सर शल्यक्रियाका लागि डा.भिन्ची रोबोटिक सर्जिकल सिस्टम, क्यान्सरको सटिक पहिचान र स्टेजिङका लागि बायोग्राफ ट्रिनियन डिजिटल पेट सिटी प्रणाली, तथा हाइपरआर्क प्रविधिसहितको ईडीजीई ३.० रेडिएसन थेरापी प्लेटफर्म जस्ता आधुनिक प्रविधि प्रयोगमा रहेको जनाइएको छ ।

चिकित्सकहरूले लखनउ नेपालगञ्ज आसपासबाट करिब साढे दुई घण्टाको दूरीमा रहेको उल्लेख गर्दै पश्चिम नेपालका बिरामीका लागि त्यहाँ उपचार लिन सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?