Butwal Today

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।  देशका विभिन्न सहरमा  यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो ।

आज मध्यान्हसम्म भने २५।४ डिग्री सेल्सियस पुगेको छ । आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ ।

यसै गरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३।२ डिग्री सेल्सियस रहेको छ ।

आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगन्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । “हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?