Butwal Today

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वासस्थान र घाँसे मैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चार वटा पोखरी मर्मतको काम गर्न लागिएको बताए।
उनले भने “यस वर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको वासस्थानका आधारमा गर्न लागेका छौँ ।” निकुञ्जभित्र ५६ पोखरी तथा ताल तलैया रहेको उनले बताए । उनका अनुसार ती सबै पोखरी तथा तालहरूमा सरसफाइ गर्न नसकिए पनि महत्त्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो ।
 यस निकुञ्जमा दुर्लभ एक सिङे गैँडा, पाटे बाघ, भालु, चित्तल, हात्ती लगायतका जनावरको वासस्थान रहेको छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो । वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि समेत सहयोग पुग्ने छ । ९५२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?