Butwal Today

कास्कीको रुपा गाउँपालिकामा १ लाख लिटर मह उत्पादन

२७ फाल्गुन २०८२, बुधबार
अ+
अ-

गण्डकी । कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरी पालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो ।

तीन वर्ष अघि मौरी पालनका लागि नमुना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाभित्रका कृषकका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिए ।

उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उनले घरघरबाटै मह बिक्री हुने गरेको बताए । मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेको उनको भनाइ छ ।

उनका अनुसार विशेषतः मौरी पालनमा रुपा १ देउपुर बेसी, रुपा २ को सिर्कुतान, वडा नं ३ को छाप पाखा, वडा नं ४ को माउ डाँडा, रुपा ५ को देउराली/देउराली फेदी, रुपा ६ को भिरचोक/खोलाको छेउ र रुपा ७ को काउरे/हंसपुर/ माझ ठानालगायतका स्थानमा मौरी पालनतर्फको आकर्षण बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?