© 2026
सल्यान । सल्यान–दाङ सडक खण्ड अन्तर्गत राप्ती लोकमार्गमा निर्माण कार्य तीव्र भइरहेको छ । निर्माण कार्यको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले स्थलगत अनुगमन गरेका छन् ।
मंगलबार बिहान हर्नेटी–राम्री क्षेत्र पुगेर उनले सडक स्तरोन्नतिको प्रगति र कार्यान्वयन अवस्थाबारे जानकारी लिएका हुन् ।
निर्वाचनपछि पहिलो पटक सो सडक खण्डको निरीक्षण गरेका मल्लले निर्माण कार्यलाई निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी पाएको बताए ।
निर्माण कम्पनीका प्रतिनिधिहरूले पनि कामलाई तीव्रता दिइएको र सम्झौता म्यादभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएका थिए ।
पिके निर्माण सेवाका इन्जिनियर प्रेम भण्डारीका अनुसार उक्त सडक स्तरोन्नति आयोजनाको सम्झौता म्याद २०८४ साल जेठ ४ गतेसम्म रहेको छ । तर निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै आफ्नो जिम्मेवारीको काम पूरा गर्ने तयारीमा रहेको जनाएको छ ।
अनुगमनका क्रममा सांसद मल्लले सडक निर्माणको काम तीव्र गतिमा अघि बढ्नु सकारात्मक भएको भन्दै गुणस्तर कायम राख्न विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरेका थिए । साथै निर्माण क्षेत्रमा यात्रु तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा पनि संवेदनशील हुनुपर्नेमा उनको जोड थियो ।
सडक निर्माण भइरहेको क्षेत्रमा अत्यधिक धुलो उडिरहेको उल्लेख गर्दै उनले यात्रु र श्रमिक दुवैको स्वास्थ्यमा असर पर्ने भएकाले नियमित रूपमा पानी छर्किने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।
वर्षौँदेखि दाङ–सल्यान सडक खण्डको उचित मर्मत सम्भार र स्तरोन्नति नहुँदा यात्रु तथा सवारी साधनले ठुलो सास्ती भोग्दै आएका छन् । बर्खा याममा पहिरो, हिलो र सडक अवरुद्ध हुने समस्या देखिने गरेको छ भने हिउँदमा अत्यधिक धुलो उड्ने समस्याले यात्रा कष्टकर बन्ने गरेको छ ।
यस्तै यस सडक खण्ड हुँदै रोल्पा सिमेन्ट प्रालिसँग सम्बन्धित चुनढुंगा बोकेका टिप्परहरूको नियमित आवागमनका कारण सडक झनै जीर्ण बन्ने र धुलोको समस्या बढ्ने गरेको स्थानीयवासी बताउँछन् । यही कारण स्थानीयहरू पटक पटक आन्दोलनसमेत गर्दै आएका छन् ।
स्थानीयवासी तथा यात्रुहरूले सडकको दिगो मर्मत, स्तरोन्नति र प्रभावकारी व्यवस्थापनमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गर्दै आएका छन् ।