Butwal Today

पाकिस्तानमा इन्धनको अभाव, मूल्य बढ्ने डर कायम

२७ फाल्गुन २०८२, बुधबार
अ+
अ-

शेखुपुरा ।  पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ । देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्याङ्करहरू लामो समयसम्म रोकिएको बताएका छन् ।

तर सरकारले भने इन्धनको मूल्य फेरि तत्काल बढ्ने सम्भावनालाई कम आँक्दै स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

मध्यपूर्व क्षेत्रमा बढेको युद्ध र तनावका कारण तेल तथा ग्यास आपूर्तिमा अवरोध सिर्जना भएको छ । यसले विश्व बजारमा तेलको मूल्य बढाउन थालेको छ भने विभिन्न देशहरू ऊर्जा आपूर्ति सुनिश्चित गर्न सङ्घर्षरत देखिएका छन् । यही असर पाकिस्तानमा पनि देखिन थालेको छ ।

पन्जाब प्रान्तको राजधानी लाहोर नजिकका इन्धन डिपोहरूमा दर्जनौँ ट्याङ्करहरू सडक किनारमा पार्क गरिएका देखिएका छन् । ती ट्याङ्करहरू देशका विभिन्न भागमा पेट्रोल र डिजेल पुर्‍याउने काम गर्छन् । तर डिपोहरूमा पर्याप्त इन्धन नहुँदा चालकहरू लामो समयसम्म त्यहीँ रोकिन बाध्य भएका छन् ।

एक ट्याङ्कर चालक अब्दुल शकूरले पछिल्ला चार दिनदेखि डिपोमा पेट्रोल उपलब्ध नभएको बताए । उनका अनुसार डिपो खाली रहेको कारण ट्याङ्करहरू इन्धन लिन नसकी थन्किएका छन् । उहाँले इरानतर्फको सीमा बन्द भएको जानकारी पाएको पनि बताए, जसका कारण आपूर्तिमा थप समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

पाकिस्तानले आफ्नो अधिकांश तेल र ग्यास खाडी क्षेत्रका देशहरूबाट आयात गर्ने गर्छ । मध्यपूर्वमा बढेको सङ्कटका कारण इन्धन बोकेका जहाजहरूको सुरक्षा सुनिश्चित गर्न यस साता नौसैनिक सुरक्षासहित समुद्री मार्गबाट ढुवानी गरिएको बताइएको छ ।

गत साता पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य करिब बीस प्रतिशतले बढाएको थियो । मूल्यवृद्धिपछि देशभरका पेट्रोल पम्पहरूमा लामो लाइन लागेको थियो भने धेरै स्थानमा मानिसहरूले एकै पटक ठुलो मात्रामा इन्धन किन्ने प्रयास गरेका थिए ।

पेट्रोलियममन्त्री अली परवेज मलिकले मंगलबार प्रसारित एक अन्तर्वार्तामा तत्काल इन्धनको मूल्यमा ठुलो परिवर्तन नहुने बताए । उनले सरकारले आपूर्ति व्यवस्थापन गर्न आवश्यक कदम चालिरहेको पनि बताए ।

यसैबिच प्रधानमन्त्री शहबाज शरीफले इन्धन बचत गर्न विभिन्न मितव्ययी उपायहरू घोषणा गरेका छन् । सरकारी कर्मचारीको कार्यसप्ताह चार दिनमा सीमित गर्ने, केही समयका लागि विद्यालय बन्द गर्ने जस्ता निर्णयहरू लागू गरिएको छ, जसबाट इन्धन खपत कम गर्ने लक्ष्य राखिएको छ ।

तर ट्याकर चालकका सहायक मझर महमूदले डिपोमा अझै इन्धन उपलब्ध नभएको बताउनुभयो । उहाँका अनुसार चालकहरू बुधबार पनि डिपो पुगेका थिए, तर कर्मचारीहरूले इन्धन नआएको जानकारी दिएका छन् ।

उनीहरूलाई इन्धन आउन अझै पाँचदेखि छ दिन लाग्न सक्ने भनिएको छ । महमूदका अनुसार देशको अवस्था राम्रो देखिएको छैन र पेट्रोल अभावकै कारण धेरै ट्याङ्करहरू सडक किनारमै पार्क गरिएका छन् ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी तनाव लामो समयसम्म जारी रहेमा पाकिस्तान लगायत ऊर्जा आयातमा निर्भर देशहरूमा इन्धन आपूर्ति र मूल्यमा थप दबाब पर्न सक्ने सम्भावना रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?