© 2026
नेपालमा आगलागी:
आगो मानिसको सर्वोत्तम आविष्कार हो । यसले उत्पादन र जीवनलाई सहज बनाएको छ । तर यही आगोको व्यवस्थापन गर्न नसक्दा आगोले रौद्ररूप लिदा ठूलो मानवीय र भौतिक क्षति हुने गरेको छ । विपद व्यवस्थापन केन्द्रका अनुसार नेपालमा विभिन्न विपद्को कूल आर्थिक क्षति मध्ये ७५ प्रतिशत क्षति आगलागीकै कारणले हुने गरेको छ ।
सन् १९७१ देखि २०१६ सम्ममा देशमा १६०५ जनाले आगलागीमा ज्यान गुमाएकोमा पछिल्ला सन् २०२१ यता मात्र ५७६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । पछिल्ला ५ वर्षका आगलागीका २०३८३ घटनाहरूमा १२ अर्ब ४ करोड रूपैया बराबरको आर्थिक क्षति भएको देखिन्छ ।
आगलागीको कारणले वार्षिक औशत ११५ जनाको मृत्यु र करिब २ अर्ब ४० करोड रूपैया बराबरको आर्थिक क्षति भएको देखिन्छ । यो अवधिमा आगोको कारण मृत्यु भएकाहरू मध्ये ३१ जना वन डढेलोमा परेर ज्यान गुमाउनेहरू थिए । आगलागीका हरेक घटनामा कुनै न कुनै किसिमका क्षतिहरू हुने भएपनि क्षतिको प्रकृति फरक फरक भएको पाइन्छ ।
आगलागीबाट शहरी क्षेत्रमा बढी आर्थिक क्षति पु¥याउने भएपनि भौतिक र मानवीय क्षति हेर्दा ग्रामिण क्षेत्रमा आगलागीको क्षति बढी भएको पाइन्छ ।
आगलागीको कारणः
विद्युतीय सर्ट सर्किट, ग्याँस सिलिन्डर चुहावट र भान्साको असावधानी, कमजोर गुणस्तरका विद्युतीय सामानको प्रयोग सहरी क्षेत्रको आगलागीको प्रमुख कारण हो । ग्रामिण क्षेत्रमा घरको कमजोर बनावट, वन जंगलसंगको निकटता, हावाहुरी, लुकेर गरिने धुमपान, गोठ र खेतमा बालिएको आगो वस्तीसम्म पुग्नु, गर्मीको समयमा लामखुट्टे र किरा धपाउन बालेको आगो छेउछाउका वस्तुमा सल्कनु जस्ता कारणले आगलागी भएको पाइन्छ ।
औद्योगिक÷ व्यवसायिक क्षेत्रमा हुने आगलागीमा पनि शहरी क्षेत्रका आगलागीका कारक नै मुख्य जिम्मेवार देखिन्छन् । त्यो बाहेक इन्धन र कच्चा पदार्थको असुरक्षित भण्डारण, सरसफाइको कमि, अव्यवस्थित गोदाम, कामदारको लापरवाही र केहि प्राकृतिक कारणले पनि उद्योग, व्यवसायिक क्षेत्रमा आगलागी भैरहेको छ । व्यवसायिक क्षेत्रमा गर्मीको समयमा मात्र नभएर अन्य समयमा समेत ठुला ठुला आगलागीका घटनाहरू भैरहेका छन् ।
नेपालमा आर्थिक र वातावरणीय क्षति गराउने मुख्य कारण वन डढेलो हो । फागुनको दोश्रो सातादेखि असारको पहिलो सातासम्म डढेलो धेरै लाग्ने गरेको छ । विगतमा चुरे र तराई मा अधिकांश डढेलो लाग्ने गरेकोमा पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रसम्म डढेलोले प्रभाव देखाईरहेको छ ।
नेपालमा अधिकांश डढेलोहरू मानवीय स्वार्थ र लापरवाहीले लाग्ने गरेका छन् । नेपालमा लाग्ने डढेलोेहरू ६४ प्रतिशत जानाजानी वा स्वार्थवश, ३२ प्रतिशत लापरवाही र ४ प्रतिशत अन्य कारणहरू जस्तै दुर्घटना वा प्राकृतिक कारणले हुने गरेका विभिन्न अध्ययनहरूले देखाएका छन् ।
आगलागी शिक्षा
जंगल होस् वा आवास र व्यवसायीक क्षेत्र होस् – सबै क्षेत्रमा आगलागी हुनुमा मानवीय लापरवाही, स्वार्थ र अज्ञानता प्रमुख कारण रहेको देखिन्छ । आगो, पानी र सर्पसंग नखेल्नु भन्ने नेपाली भनाई रहेपनि आगोलाई कमजोर ठान्दा आगलागीका घटनाहरू हुने र त्यसबाट बढी क्षति भैरहेको छ ।
आगलागी हुनबाट कसरि जोगिने, आगोको सुरक्षित प्रयोग कसरि गर्ने भन्ने कुराको मात्र ज्ञानको कमि छैन, आगलागी भैहालेमा कसरि क्षति कम हुने गरि काम गर्ने भन्ने ज्ञान र सिपको कमीले गर्दा पनि आगलागीबाट बढी क्षति हुने गरेको छ । आगो र यसको सुरक्षित प्रयोग तथा बचावटको बारेमा ज्ञान र सिप विकास गर्नको लागि आगलागी शिक्षा आवस्यक पर्छ ।
आगलागी शिक्षा भनेको आगलागीका जोखिमहरू बुझ्ने, यसबाट बच्ने उपायहरू सिक्ने र यदि आगलागी भइहालेमा सुरक्षित रूपमा कसरी प्रतिक्रिया दिने भन्ने बारेको व्यावहारिक ज्ञान हो ।
यो केवल ’आगो निभाउने’ कुरा मात्र होइन, बरु आगो लाग्नै नदिने सचेतना र आपतकालीन अवस्थामा जीवन जोगाउने कला पनि हो । अबोध बालकलाई आगो नचलाउ है पोल्छ भन्नेदेखि फायरलाईन बनाएर आगलागीको विस्तार रोक्न सकिन्छ भन्ने सम्मको ज्ञान दिने शिक्षा नै आगलागी शिक्षा हो ।
आगलागी शिक्षा विपद शिक्षाकै एक रूप हो र यो जीवनपर्यन्त आवस्यक शिक्षा हो । यो शिक्षा अन्तर्गत आगोको फैलावट र शक्तिको जानकारी दिने, आगो प्रयोग गर्दा कसरि सचेत रहने भन्ने कुरा सिकाउनु आवस्यक हुन्छ ।
कुन क्षेत्रमा कुन समय परिस्थितिमा आगलागीको जोखिम बढी हुन्छ ? आगो कसरि फैलिन सक्छ ? आगोको जोखिम घटाउन आवास र व्यवसायिक क्षेत्रको व्यवस्थापन कसरि गर्ने ? वस्ती, उद्योग र वनमा लाग्ने आगलागी विरुद्धमा कसरि र कस्तो पूर्वतयारी गर्ने कुराहरू यस्तो शिक्षा अन्तर्गत रहनु पर्छ ।
आगो फैलिन नदिने पूर्वाधारको निर्माण गर्ने, आगलागी नियन्त्रण गर्ने उपकरणको व्यवस्थापन र संचालन गर्ने, आपतकालीन अवस्थामा जीउधन जोगाउने सिप पनि आगलागी शिक्षामा समेटिएको हुन्छ ।
आगलागी शिक्षाको आवश्यकताः
आगलागी एउटा यस्तो विपद् हो जसले केही मिनेटमै जीवन र सम्पत्ति खरानी बनाउन सक्छ । निकै मेहनतगरि हुर्काएको वनजंगल केहि मिनेटको आगलागीले स्वाहा हुन सक्छ । मानिसलाई आगोको बारेमा सचेत बनाउन मात्र सकियो भने आगलागीको जोखिम र क्षति धेरै कम गर्न सकिन्छ ।
यो शिक्षाले घर, व्यवसायिक स्थल, कार्यस्थल र वनमा रहेका पदार्थहरूको प्रज्वलनशिलता जोखिम पहिचान गर्न र त्यसलाई समयमै हटाउन वा सुधार गर्न सघाउछ । धेरै मानिसहरू आगलागीमा परेपछि निस्कन नसकेर र निस्सासिएर मरेको पाइन्छ । आगलागी शिक्षाले कस्तो किसिमको आगलागी हुँदा शान्त रहन, हडबड नगर्न र सुरक्षित तरिकाले आगो लागेको क्षेत्रबाट बाहिर निस्कन सघाउंछ ।
वन र वस्तीमा आगलागी भएमा त्यसलाई निभाउन र फैलिन नदिन समुदायमा संचार र हातेमालो गर्ने संयन्त्र तयारि अवस्थामा राख्न यस्तो शिक्षाले मार्गदर्शन प्रदान गर्छ । अचेल बनाइएका अधिकांश संरचनामा आगलागी थाहा पाउने र निभाउने संरचनाहरू जडान गरिएको हुन्छ तर त्यसलाई चलाउने सिपको कमीले गर्दा ति उपकरण हुदाहुदैपनि आगलागीबाट ठुलो क्षति हुने गरेको पाइन्छ ।
धुवाँ थाहा पाउने उपकरण (Smoke Detector) र फायर एक्स्टिङ्गुइसर (Fire Extinguisher) कसरी चलाउने भन्ने ज्ञान यसै शिक्षाबाट प्राप्त हुन्छ । यसले आगलागी पछिको राहत, पुनस्र्थापनामा सरोकारवालासँग सहकार्य र समन्वय गर्न समेत सघाउँछ ।
नेपालमा ठूलो वातावरणीय र संरक्षण चुनाती बनेको वन डढेलो रोकथाम गर्न र क्षति कम गर्न आगलागी शिक्षा अति आवश्यक छ । मानिसलाई वन डढेलोको कारण र डढेलोले पुग्ने असरको बारेमा समुदायमा शिक्षा दिन सकेमा मात्र स्वार्थवस वा लापरवाहीले गर्दा हुने डढेलोलाई नियन्त्रण गर्न सकिनछ ।
वृक्षारोपण, झाडी सरसफाई, अग्निरेखा निर्माण, पात पतिङ्गरको उपयोग बारेमा सचेतना जगाउन, डढेलोलाइ फैलिन नदिन आगलागी र डढेलो सम्बन्धि शिक्षा समुदायमा फैलाउनु आवश्यक छ । समयमै समुदायलाई डढेलो सम्बन्धि शिक्षा दिन सकेमा डढेलो विरुद्धका पुर्व तयारि, प्रतिकार्य, नियन्त्रण र पुनस्र्थापनाका कामहरू प्रभावकारी रूपमा संचालन गर्न सकिनेछ ।
कसरी दिने शिक्षा ?
अन्य विपदमा भन्दा आगलागीमा मानवीय कारण बढी हुने भएकोले यसलाई जीवनपर्यन्त शिक्षाको रूपमा संचालन गर्नुपर्छ । विद्यालय र विस्वविद्यालयका औपचारिक पाठ्यक्रममा आगलागिलाई समावेश गरेर पढाउनु राम्रो हुन्छ ।
संचार माध्यमको प्रयोग गरेर पनि आगलागी सम्बन्धि शिक्षा र संचार उपलब्ध गराउन सकिन्छ । आमा समुह, टोल समिति, बाल क्लब, सामुदायिक सस्था, सरसफाई समुह, सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूलाई सम्बन्धित सस्थाहरूको सहयोगमा अभ्यासमा आधारित शिक्षा दिन सकिन्छ ।
नेपाल प्रहरी र डिभिजन वन कार्यालयले संचालन गर्ने आगलागी सम्बन्धि सचेतना कार्यक्रमलाई समुदाय स्तरमा लैजान सकेमा त्यसबाट आगलागी सम्बन्धि शिक्षा र सिप फैलाउन सकिनेछ ।
औद्योगिक प्रतिष्ठान र तिनका संगठनले कामदार र ब्यवासायिकोलागी आगलागी विरुद्धको सचेतना कार्यक्रम नियमित रूपमा संचालन गर्न सकेमा क्षति कम गर्न मद्दत पुग्नेछ । अग्नि नियन्त्रक उपकरण विक्रेता, इन्धन वा प्रज्वलनशील पदार्थको विक्रेताहरूले पनि ग्राहकको लागि यस्ता आगलागी सचेतनाका कार्यक्रमहरू संचालन गर्न सकेमा उपकरण प्रयोगको प्रभावकारिता बढ्न सकेछ ।
व्यवसाय, वस्ती र वन आगलागीको जोखिममा छन् । आगोको प्रकृति र जोखिम बुझ्न नसक्दा वर्षेनी ठुलो क्षति भैरहेको छ । आगोको सहि प्रयोग गर्न र त्यसबाट हुने क्षति रोक्नको लागि औपचारिक वा अनौपचारिक माध्यमबाट समुदायमा आगलागी शिक्षा फैलाउन जरुरि छ ।
यसका लागि वन, वातावरण, सुरक्षा, व्यवसायिक र शैक्षिक सस्था लगायत समुदायका हरेक वर्गको योगदान आवस्यक छ ।