© 2026
पाल्पा । सुख्खा मौसमको सुरुवातीसँगै वनमा लाग्ने डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले प्रभावकारी योजना कार्यान्वयन गर्ने भएको छ ।
सल्ला तथा कोणधारी वनस्पति भएको जङ्गल र रुपन्देही, नवलपरासी, नवलपुरसँग सिमाना जोडिएका क्षेत्र अति संवेदनशील भएका कारण प्रारम्भिक अवस्थामा रोकथामको कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए ।
वन जङ्गलमा डढेलो लगाउने कार्य भनेको सचेतनाको कमीले गर्दा हो । विगतका वर्षबाट पाठ सिक्दै डढेलो लागेपछि नियन्त्रण गर्नु भन्दा लाग्न नदिने विधि प्रक्रिया अपनाउन लागिएको हो ।
समुदाय तह सम्म पुग्ने, विद्यालय तहमा विद्यार्थीहरूका लागि सचेतनाको कार्यक्रम गरिने छ । विगत वर्ष देखि नै स्थानीय तहलाई बढी जिम्मेवार बनाएका कारण गत वर्ष कम क्षति भएको सूचना अधिकारी खिल बहादुर तामाङले बताए ।
विशेष गरी रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिका तराइसँग सिमाना जोडिएका छन् । “यहाँको भू बनोटको हिसाबले गर्दा तलबाट सल्किएको आगो माथि आउने गर्छ । मुख्य समस्या यही हो”–उनले भने । पहिले पहिले वन्यजन्तु धपाउन किरा नियन्त्रण गर्नका लागि वनमा आगो लगाउने प्रचलन थियो ।
सामुदायिक वनमा समूहका सदस्यले नै सचेतनाको कमीले गर्दा डढेलो लागेको ठाउँमा घाँस पलाउँछ, च्याउ उम्रिन्छ भन्ने गलत मानसिकताका कारणले पनि डढेलो लगाउने प्रचलन थियो । सचेतना प्रभावकारी भएका कारण अब त्यसो नहुने समूहलाई नै बढी जिम्मेवारी बनाएको उनले बताए ।
सूचना अधिकारीका अनुसार जिल्लाको कुल वन क्षेत्र ८२ हजार ७ सय ३३ हेक्टर क्षेत्रफल मध्ये ४५.०७ प्रतिशत क्षेत्रफल अति संवेदनशील, २६.३९ प्रतिशत संवेदनशील, १२.८८ प्रतिशत मध्यम १२.५५ कम र ३.११ प्रतिशत कमै संवेदनशील क्षेत्र रहेका छन् । डढेलो नियन्त्रणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार र सरोकारवाला निकाय सँग समन्वय गरी सचेतनाको क्रियाकलाप अगाडि बढेको कार्यालयले जनाएको छ ।