Butwal Today

गुल्मीको भार्सेमा दाताको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना

२७ फाल्गुन २०८२, बुधबार
अ+
अ-

गुल्मी ।  गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित भइरहेको समयमा यहाँको एक विद्यालयमा भने परदेशी दाताहरूको सहयोगमा कम्प्युटर प्रयागे शाला स्थापना गरिएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका(८ भार्सेमा रहेको जनसहयोग माध्यमिक विद्यालयमा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।

कम्प्युटर प्रयोगशाला स्थापनाका लागि स्थानीय समाजसेवी नरु बुढाथोकीको अगुवाइमा विदेशमा बसोबास गर्ने स्थानीयबाट रु सात लाख रकम सङ्कलन गरिएको थियो । उक्त रकमबाट २० थान कम्प्युटर खरिद गरी प्रयोगशाला सञ्चालन गरिएको बुढाथोकीले जानकारी दिए ।

“विद्यार्थी पलायन रोक्ने र गाउँमै प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले हामीले अभियान सञ्चालन गरेका थियौँ, अहिले विद्यालयमा ल्याब सञ्चालनपछि विद्यार्थी पनि निकै उत्साहित बनेका छन्”, उनले भने ।

तीव्र बसाइसराइका कारण हाल १०९ जना विद्यार्थीमा मात्र सीमित उक्त विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक लोकहरि पाण्डेले दाताहरूको सहयोगमा कम्प्युटर, नेटवर्किङ, सिसिटिभी जडान तथा कम्प्युटर शिक्षकको व्यवस्था गरिएको बताए । “विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड्नका लागि कम्प्युटर शिक्षा निकै प्रभावकारी बनेको छ, यसमा विद्यार्थीहरूलाई पनि थप प्रोत्साहित र आकर्षित बनाएको छ”, उनले भने ।

ल्याब स्थापना अभियानमा अवकाश प्राप्त ब्रिटिस आर्मीका लेफ्टिनेन्ट तथा हाल हङकङ निवासी कुलबहादुर बुढाथोकीको मुख्य भूमिका रहेको छ । प्रविधिसँग जोडिएको शिक्षा वर्तमान आवश्यकता भएको बताउँदै बुढाथोकीले गाउँको विद्यालयका लागि आफूहरूले सक्दो सहयोग गरेको उल्लेख गरे । “वर्तमान अवस्थामा गाउँमा गुणस्तरीय शिक्षाको आवश्यक छ, त्यसका लागि प्रविधिको पनि ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेर सहयोग गरेका हौँ”, उनले भने ।

कम्प्युटर कक्षामा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा कम्प्युटर चलाउन पाउँदा आफूहरू निकै उत्साहित भएको बताएका छन् । कम्प्युटर सिकिरहेका कक्षा ६ की विद्यार्थी विनीता नेपालीले सानै कक्षाबाट विद्यालयमा कम्प्युटर सिक्न पाउँदा खुसी लागेको भन्दै यसले आफ्नो अध्ययनमा पनि निकै सहज बनाएको बताइन्  ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई पालैपालो प्रयोगात्मक सिकाइमा सहभागी गराइएको छ । भार्से जनसहयोग माध्यमिक विद्यालय जिल्लाकै सबैभन्दा पुरानो विद्यालयअन्तर्गत पर्दछ । उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू जनजाति समुदायका रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?