Butwal Today

लुम्बिनीमा भत्किए ‘परम्परागत किल्ला’

वर्षौँदेखि आफूलाई उक्त निर्वाचन क्षेत्रको ‘ठेकेदार’ को रूपमा स्थापित गर्दै आएका दलहरूको लज्जास्पद पराजय सँगै पार्टी भित्रबाट आलोचना सुरु भएको छ । 
२५ फाल्गुन २०८२, सोमबार
अ+
अ-

बुटवल  ।  लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा पुराना विरासत बोकेका दलको लज्जास्पद हार भएको छ ।

वर्षौँदेखि आफूलाई उक्त निर्वाचन क्षेत्रको ‘ठेकेदार’ को रूपमा स्थापित गर्दै आएका दलहरूको लज्जास्पद पराजयसँगै पार्टी भित्रबाट आलोचना सुरु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा जितेर रास्वपाले आफ्नो वर्चस्व बनाएको छ ।

यसअघि ११ सिट जितेको नेकपा एमाले १ सिटमा खुम्चिएको छ भने ६ सिट जितेको काँग्रेस दुई र ३ सिट जितेको नेकपा २ सिटमा झरेको छ । ३ सिट जितेको राप्रपा मुख्य प्रतिस्पर्धामै आएन भने १ सिट जितेको जसपा सहित मधेसवादी दलहरू पनि कतै प्रतिस्पर्धा नै गर्न सकेनन् ।

नेकपा एमालेमा पार्टीको नेतृत्वमा रहेका र पूर्व मन्त्री समेत रहेका व्यक्तिहरूको फराकिलो मतान्तरले पराजित भएपछि पार्टीकै नेतृत्वमाथि प्रश्न चिन्ह समेत खडा भएको छ ।

रुपन्देहीमा विगत लामो समयदेखि चुनाव जित्दै आएका पार्टीका उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमालेका महासचिव शङ्कर पोखरेल सहित पार्टीका सचिव गोकर्ण विष्ट, प्रदीप ज्ञवालीलगायतका नेताहरू भारी मतान्तरले पराजित भएका छन् ।

लामो समयदेखि चुनावी चर्चामा रहेका रुपन्देहीका सर्वेन्द्रनाथ शुक्ला, नवलपरासीका हृदयेश त्रिपाठी, कपिलवस्तुका बृजेश गुप्तासमेत यस पटक धेरै पछि परे । रुपन्देही, गुल्मी, दाङ, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, बाँकेजस्ता एमालेका बलिया आधार इलाका मानिएका र ती पार्टीका प्रभावशाली नेताहरूले फराकिलो मतान्तरमा पराजित भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली, खिमलाल भट्टराई, दधिराम न्यौपाने, ठाकुर गैरेको क्षेत्रमा रास्वपाले अस्वाभाविक मतान्तरमा जित दर्ता गरेको छ ।

त्यसै गरी उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी २, नारायण आचार्यले पाल्पा १, सूर्य थापाले प्युठानमा थोरै मतले पराजित भएका छन् । विष्ट, आचार्य र थापाले हारेका यी क्षेत्र अहिले निर्वाचन जितेका दलहरूले समेत आफ्नो सुरक्षित क्षेत्रमा गणना गरेका थिएनन् । यसबाहेक रुपन्देही ४, बाँके ३ मा पनि उस्तै रोचक नतिजा आएको छ ।

रास्वपाबाट अधिकांश क्षेत्रमा राजनीतिमा नयाँ अनुहारलाई अगाडि सारिएको थियो । विभिन्न क्षेत्रबाट उनीहरू राजनीतिमा आएका छन् भने केही निर्वाचनकै मुखमा पार्टी प्रवेश गरेर आएका छन् ।

नवलपरासीको दुवै क्षेत्र, रुपन्देहीको क्षेत्र नं ४, कपिलवस्तुको क्षेत्र नं. २ र ३ का उम्मेदवारले मनोनयन दर्ताकै मुखमा पार्टी प्रवेश गरेर उम्मेदवारी पाएका थिए ।

रुपन्देहीका ५ वटै निर्वाचनमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा सो पार्टीका महामन्त्री सुनिल लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका हिरा खत्रीले ११ हजार ९८२ मत ल्याएका छन् । २ मा अधिवक्ता सुलभ खरेलले ५६ हजार ५५० ल्याउँदा एमालेका विष्णु पौडेलले १२ हजार ६६१ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापाले ५८८१४ मत ल्याउँदा काँग्रेसका सुशील गुरुङले ८४३५, ४ मा कन्हैया बानियाले २८ हजार ६६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार ६२ मत ल्याएका छन् भने ५ मा व्यवसायी तौफिफ खानले ३८ हजार ८०६ मत ल्याउँदा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत ल्याएका छन् ।

क्षेत्र नं. ४ बाहेक अरू क्षेत्रमा निकै फराकिलो मतान्तर रहेको छ । क्षेत्र नं. ३ मा ५० हजार र २ मा ४२ हजार मतान्तरले उनीहरू विजयी भएका हुन् ।

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा सागर ढकालले २९ हजार ६४२ मत ल्याउँदा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा एमालेका गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याएका छन् ।

दाङका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले बाजी मारेको छ । क्षेत्र नम्बर १ मा सो पार्टीका प्रदेश अध्यक्ष रहेका देवराज पाठक, क्षेत्र नम्बर २ मा सहमहामन्त्री विपिन आचार्य र ३ मा कमल सुवेदीले फराकिलो मतान्तरमा जित दर्ता गरेका छन् ।

पाठकले नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३ सय २२ मतान्तरले पछि पार्दै ४२ हजार ६ सय २ मत प्राप्त गरेका छन् । आचार्यले ४३ हजार ५ सय ५० मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमाले महासचिव शङ्कर पोखरेलले १५ हजार २ सय ८२ मत गर्दा २८ हजार २ सय ७५ मतान्तर रहेको छ ।

सुवेदीले क्षेत्र नम्बर ३ मा ४४ हजार २४८ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रभावशाली नेता दीपक गिरीलाई २७ हजार ७९५ को मतान्तरले पराजित गरे ।

पाल्पाको क्षेत्र नम्बर २ मा रास्वपाका माधव बहादुर थापाले फराकिलो मतान्तरले जितेका छन् । उनले २६ हजार ७३६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत पाएका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा रास्वपाका मोहनलाल आचार्य, क्षेत्र नम्बर २ मा रास्वपाका विक्रम थापाले फराकिलो मतान्तरमा जितेका छन् ।

आचार्यले ३४१४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका बागी आशिष शर्माले १५ हजार ८६० मत ल्याएका छन् भने क्षेत्र नं २ मा थापाले २७ हजार ६३५ मत ल्याउँदा काँग्रेसका सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत ल्याएका छन् ।

३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी भएका छन् । चौधरीले ३२ हजार ७९२ मत पाउँदा काँग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत पाएका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् ।

उनले २९ हजार ५५१ मत पाउँदा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् । नवलपरासी पश्चिममा २ वटा निर्वाचन क्षेत्रमा पनि रास्वपाले एकल जित दर्ता गरेको छ ।

क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल र क्षेत्र नम्बर २ मा पनि रास्वपाकै नरेन्द्र कुमार गुप्ताले फराकिलो मतान्तरमा काँग्रेसका उम्मेदवारलाई जितेका हुन् । उनीहरू दुवै निर्वाचनकै मुखमा काँग्रेस छाडेर रास्वपामा गएका थिए ।

बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारुले जितेका छन् भने क्षेत्र नम्बर २ मा पनि रास्वपाकै श्रीधर पोखरेलले जितेका छन् । क्षेत्र नं १ मा थारुले ४९ हजार ६३१ मत पाउँदा एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएर दोस्रो भएका छन् भने निवर्तमान सांसद रहेका काँग्रेस नेता सञ्जय गौतम १२ हजार ७२२ मतका साथ तेस्रो भएका छन् भने क्षेत्र नं. २ मा श्रीधर पोखरेलले नेकपाका सुरेश पन्तलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

प्युठानमा रास्वपाका सुशान्त वैदिकले जितेका छन् । वैदिकले २७ हजार ४६९ मत पाउँदा काँग्रेसका गोविन्द पोखरेलले १८ हजार ३३८ मत पाएका छन् । अर्घाखाँचीमा रास्वपाकै हरि भुसाल विजयी भएका छन् । उनले ३५ हजार २३ मत पाउँदा एमालेका पिताम्बर भुसालले २२ हजार ६४९ मत पाएका छन् ।

पूर्वी रुकुमबाट नेकपाका पुष्पकमल दाहाल प्रचण्डले जीत हासिल गरेका छन् । उनले १० हजार २४० मत ल्याउँदा प्रमुख प्रतिस्पर्धी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।

रोल्पामा नेकपाकै वर्षमान पुनले फराकिलो मतान्तरमा जितेका छन् । उनले २७ हजार ४६० मत पाउँदा काँग्रेसका सुदन वलीले १२ हजार ८ मत पाएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा काँग्रेसका अभिषेक प्रताप साहले जितेका छन् । उनले २३ हजार ५३५ मत ल्याउँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत पाएका छन् । काङ्ग्रेसबाट पाल्पाको क्षेत्र नं १ मा सन्दीप रानाले जितेका छन् ।

उनले १८ हजार ३३६ मत पाउँदा नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ८१९ मत पाएका थिए । बाँकेको क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन् । राईले २४ हजार ६२८ मत पाउँदा रास्वपाका विवेक श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन् ।

सुहाङ्लाई संसदीय दलको नेता बनाऔंः पन्थी 

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा कपिलवस्तुका प्रदेश सभा सदस्य नेकपा एमालेका नेता विष्णु पन्थीले स्व.सुवास नेम्बाङ्गका छोरा हाल प्रतिनिधि सभामा निर्वाचित सुहाङ्ग नेम्बाङ्गलाई पार्टीको संसदीय दलको नेता चुन्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो मत राख्दै पन्थीले पार्टीको लज्जास्पद हार भएको स्वीकार गर्दै अवको संसदीय दलको नेतामा सुहाङ्ग नेम्वाङलाई बनाउनुपर्ने उल्लेख गरेका हुन् ।

उनले समानुपातिक सूचीको पहिलो नम्बरमा माओवादीबाट एमालेमा आएका नेता रामबहादुर थापाको नाम रहनु नै समानुपातिक मतको सङ्ख्या घटेको समेत आरोप लगाएका हुन् । उनले भनेका छन्–“हाम्रो पार्टीको लज्जास्पद हार भएको यो निर्वाचनमा उपाध्यक्ष राम बहादुर थापा बादल समानुपातिक सूचीको पहिलो नम्बरमा हुँदा एमालेको समानुपातिक मत घटेको कुरा सुनेको छु ।

सांसद बन्ने मन भए उहाँ जस्तो नेता प्रत्यक्षमा उठ्नु राम्रो हुने थियो । त्यो भएन अब उहाँले हापेर बस्दा राम्रो हुने थियो । दलको नेतामा सुहाङ्ग नेम्वाङ बनाउँदा राम्रो हुने देखेर सुझाव लेखेको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?