© 2026
बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल राजनीतिमा सक्रिय भएको करिब एक वर्षमै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उनले फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन् ।
खरेलले कुल ५६ हजार ५५० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरे । पौडेल यसअघि सोही क्षेत्रबाट चार पटकसम्म निर्वाचित भइसकेका नेता हुन् ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल तेस्रो स्थानमा रहे । उनले ९ हजार ३९२ मत प्राप्त गरे । नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाएका छन् ।
२०५४ साल भदौमा जन्मिएका सुलभ खरेल रुपन्देहीको तत्कालीन सेमलार गाविस (हाल बुटवल उपमहानगरपालिका–१६) का स्थायी बासिन्दा हुन् । रुपन्देहीमै एसएलसी उत्तीर्ण गरेका उनले काठमाडौंस्थित ट्रिनिटी कलेजबाट विज्ञान संकायमा जीवविज्ञान विषय लिएर प्लस टु अध्ययन पूरा गरेका हुन् । त्यसपछि उनले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बीए एलएलबी अध्ययन सम्पन्न गरेका थिए ।
कानून अध्ययनका क्रममा करिब दुई वर्षसम्म उनी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध थिए । त्यसपछि भने उनी कुनै पनि राजनीतिक दलमा सक्रिय थिएनन् । अध्ययन पूरा गरेपछि उनले करिब चार वर्ष वकालत पेशामा संलग्न भएर कानूनी अभ्यास गरेका थिए ।
एलएलएम अध्ययनका लागि लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेपछि उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चक्रवर्ती हबी क्याम्पस, काठमाडौंमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका थिए ।
कानूनको विद्यार्थीका रूपमा खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनी उक्त मुद्दामा सबैभन्दा कान्छा रिट निवेदकमध्ये एकका रूपमा चर्चामा आएका थिए ।
त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदबाट पारित महाअभियोग निष्प्रभावी बनाउने पत्रविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी गराउने प्रक्रियामा पनि उनी कानूनी बहसमा सहभागी भएका थिए । न्यायिक सुशासनका विषयमा सर्वोच्च अदालत बार एसोसिएसनले दर्ता गरेको रिट निवेदनको प्रारम्भिक मस्यौदा तयार पार्ने काममा पनि उनको संलग्नता रहेको बताइन्छ ।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका एक दर्जनभन्दा बढी संघीय सांसदलाई क्षेत्राधिकार मिचेर जरिवाना गरेको भन्दै दायर गरिएको रिटमा पनि खरेलले बहस पैरवी गरेका थिए ।
त्यसपछि उनी उच्च अध्ययनका लागि अमेरिका गए । उनले युनिभर्सिटी अफ मिसिगनमा संवैधानिक कानून विषयमा एक वर्षे स्नातकोत्तर अध्ययन पूरा गरेका हुन् । अध्ययन सम्पन्न गरी नेपाल फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए ।
पार्टीमा प्रवेशपछि उनले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कानूनी परामर्श दिने काम गरेका थिए ।
यसबीच रुपन्देही–३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहराको निधनपछि भएको उपनिर्वाचनमा पनि खरेल उम्मेदवार बन्ने चर्चामा आएका थिए । पार्टीले गरेको प्रारम्भिक छनोटमा उनी ९ जनाको सूचीमा परे पनि अन्ततः डा। लेखजंग थापा उम्मेदवार बनेका थिए ।
त्यसपछि भएको ‘जेन–जी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमा न्यायाधीशमाथि आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने आशयका सन्देश आदानप्रदान गरेको आरोप उनीमाथि लागेको थियो । तर खरेलले उक्त आरोपलाई अस्वीकार गर्दै आफूविरुद्धको झुटो प्रचार भएको दाबी गरेका छन् ।
गत मंसिर १७ गते भ्रष्टाचार मुद्दा लागेको व्यक्तिलाई पनि चुनाव लड्न पाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदा खरेल बहसका लागि पुगेका थिए । त्यसक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनीमाथि प्रश्न उठाउँदै बहस गर्न रोक लगाएपछि खरेल इजलासमै अस्वस्थ भई ढलेका थिए । उक्त घटनापछि उनी थप चर्चामा आएका थिए ।
यसैबीच राजनीतिक घटनाक्रम परिवर्तन भई फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि खरेल उम्मेदवार बने । सुरुमा रास्वपाबाट बालेन शाहको कोटाबाट हङकङबाट फर्किएका आशिष सुवेदीलाई टिकट दिने निर्णय भएको थियो । तर उम्मेदवारी दर्ताको अघिल्लो रात खरेलले पनि पार्टीबाट टिकट प्राप्त गरेका थिए ।
निर्वाचनमा विजय हासिल गरेपछि खरेलले राज्यका विभिन्न निकाय र संवैधानिक आयोगहरूमा देखिएको चरम दलीयकरण, राजनीतिक भागबण्डा, भ्रष्टाचार र अनियमितता अन्त्य गर्न आफू संसदमा सक्रिय भूमिका खेल्ने बताएका छन् ।
उनले दलगत स्वार्थका कारण नागरिकले संविधानले दिएको अधिकार पूर्ण रूपमा उपयोग गर्न नपाएको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।